काठमाडौँ । धनगढीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका एक युवकको मृत्यु भएको छ ।
शरीरमा पेट्रोल छर्केर आगो लगाएका ३५ वर्षीय ज्योति चौधरीलाई थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा धादिङमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीका अनुसार चौधरीले साउन ९ गते साँझ करिब ७:३० बजे घरभित्रै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। घटना लगत्तै आफन्तले उनलाई उद्धार गरी उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पुर्याएका थिए।
चौधरीको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो । अत्यन्त गम्भीर रहेकाले प्रारम्भिक उपचारपछि उनलाई भेरी अस्पताल, नेपालगञ्ज रिफर गरिएको थियो। तर परिवारले थप उपचारका लागि काठमाडौँ लैजाने निर्णय गरेका थिए।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार काठमाडौँ लैजाँदै गर्दा धादिङ पुगेपछि उनको मृत्यु भएको हो । आत्मदाहको प्रयास गर्नुको कारण भने हालसम्म खुल्न सकेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।






