काठमाडौँ । बाल गायक तथा कलाकार अशोक दर्जीले आफूलाई कुटपिट गर्ने तथा धम्की दिएको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका छन्।
दर्जीले झापास्थित इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोडमा घटनामा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाहीको माग गर्दै निवेदन दिएको प्रहरी स्रोतले जनाएको छ।
उजुरीमा अर्जुनधारा-११, शनिश्चरेका अंकित प्रधानसहित दुई जनालाई विपक्षी बनाइएको छ। दर्जीले आफूलाई दुर्व्यवहार गरिएको भिडियो करिब एक महिनाअघि नै तयार भएको र उक्त सामग्री हटाउन पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गरिएको उल्लेख गरेका छन्।
हालै सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको उक्त भिडियोमा केही व्यक्तिहरूले दर्जीसँग रकम माग गर्दै कुटपिट तथा दुर्व्यवहार गरेको देखिएको थियो। भिडियो सार्वजनिक भएपछि कलाकार, प्रशंसक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले घटनाप्रति चासो व्यक्त गर्दै दोषीमाथि कारबाहीको माग गरेका थिए।
प्रहरीका अनुसार उजुरी प्राप्त भएपछि घटनाको आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। अनुसन्धानका आधारमा कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।






