काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सुनसरीको देवानगञ्जमा भएको घटनालाई लिएर गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेका छन्।
देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच उत्पन्न तनावका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि बास्कोटाले सामाजिक सञ्जालमार्फत गृहमन्त्रीको जिम्मेवारीबारे प्रश्न उठाएका हुन्।
उक्त घटनामा प्रहरीसहित २१ जना प्रदर्शनकारी घाइते भएका छन्। घटनापछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो। कर्फ्युका बीच केही स्थानमा आगजनी र तोडफोड भएपछि सुरक्षा अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको थियो।
बास्कोटाले गृहमन्त्रीलाई लक्षित गर्दै संसद्मा भावुक अभिव्यक्ति दिने तर घटनाको जिम्मेवारी नलिने प्रवृत्तिको आलोचना गरेका छन्। उनले संसद्को रोष्ट्रममा भावुकता प्रदर्शन गर्नु मात्र पर्याप्त नहुने उल्लेख गर्दै जवाफदेहिताका आधारमा पदबाट राजीनामा दिनुपर्ने धारणा व्यक्त गरेका छन्।
उनले घटनापछि सार्वजनिक अभिव्यक्तिमार्फत गोली लागेका व्यक्तिलाई नै दोषी ठहर गर्ने प्रवृत्तिको पनि आलोचना गर्दै यस्ता घटनामा राजनीतिक र प्रशासनिक जवाफदेहिता सुनिश्चित हुनुपर्ने बताएका छन्।






