काठमाडौँ । धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार डा. केसीलाई मधुमेहको पुरानो समस्या र उमेरजन्य कारणले स्वास्थ्य जोखिम बढेको छ। उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै चिकित्सकहरूको चार सदस्यीय टोलीले २४ घण्टा निगरानी गरिरहेको अस्पतालले जानकारी दिएको छ।
डा. केसीले सुगर नियन्त्रणका लागि आवश्यक औषधि तथा स्लाइन लिन अस्वीकार गरेको अस्पतालले जनाएको छ। यसका कारण उपचार व्यवस्थापन थप चुनौतीपूर्ण बनेको चिकित्सकहरूको भनाइ छ।
डा. केसी बिहीबारदेखि धनगढीमा अनसनमा रहेका छन्। उनका माग सम्बोधनका लागि वार्ता गर्न सरकारले पठाएको टोली शनिबार धनगढी पुगेको थियो। सरकारी वार्ता टोलीले आइतबार डा. केसीसँग छलफल गरे पनि हालसम्म सहमति जुट्न सकेको छैन।
यसैबीच, शिक्षा मन्त्रालय स्रोतले भने डा. केसीसँगको वार्ता सकारात्मक दिशातर्फ अघि बढिरहेको र सहमति नजिक पुगेको दाबी गरेको छ। वार्ताको निष्कर्ष भने सार्वजनिक हुन बाँकी छ।







