धनगढी । यातायात व्यवस्था कार्यालय धनगढीले प्रिन्ट भएर कार्यालयमा आइपुगेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) बुझ्न सेवाग्राहीलाई आग्रह गरेको छ ।
कार्यालयले सूचना जारी गर्दै यातायात व्यवस्था विभाग, मीन भवन काठमाडौँमार्फत प्राप्त भएका नयाँ लाइसेन्स, थप (एड), नवीकरण तथा प्रतिलिपिका लागि आवेदन दिएका सेवाग्राहीका अनुमति पत्र तयार भइसकेको जनाएको हो ।
कार्यालयका अनुसार मिति २०८२ वैशाख १ गतेदेखि २०८३ असार ३० गतेसम्म राजस्व दस्तुर बुझाएका सेवाग्राहीका लाइसेन्स प्रिन्ट भई वितरणका लागि उपलब्ध भएका छन् ।
सम्बन्धित सेवाग्राहीले राजस्व बुझाएको सक्कल भौचर साथमा लिएर यातायात व्यवस्था कार्यालय धनगढीको लाइसेन्स वितरण कक्षमा सम्पर्क गरी आफ्नो अनुमति पत्र बुझिलिन कार्यालयले अनुरोध गरेको छ ।
कार्यालयले सेवाग्राहीको सहजताका लागि सार्वजनिक सूचना जारी गर्दै समयमै लाइसेन्स लिनसमेत आग्रह गरेको छ ।







