काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरीको देवानगञ्जमा भएको घटनालगायत समसामयिक विषयमा छलफल गर्न बुधबार बिहान ८ बजे सिंहदरबारमा सर्वदलीय बैठक आह्वान गरेका छन्।
रास्वपा सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रतिनिधिसभाको लेखा समितिको बैठक कक्षमा हुनेछ। छलफलमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा जनमत पार्टीका अध्यक्ष सीके राउत नेतृत्वका दललाई पनि आमन्त्रण गरिएको छ।
सभापतिको सचिवालयले सबै दललाई औपचारिक पत्राचार गरिएको र सभापति लामिछानेले सम्बन्धित नेताहरूसँग व्यक्तिगत रूपमा टेलिफोन सम्पर्क गरेर पनि बैठकमा सहभागी हुन आग्रह गरेको जनाएको छ।
रास्वपाका महामन्त्री विपिन आचार्यका अनुसार सुनसरीको घटनाजस्तो अत्यन्त संवेदनशील र दुःखद परिस्थितिपछि सामाजिक रूपमा फैलिन सक्ने द्वेष न्यूनीकरण, सद्भाव तथा शान्ति–सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहेकाले राजनीतिक तहबाट पनि साझा सन्देश र अपिल आवश्यक रहेको निष्कर्षसहित सर्वदलीय छलफल आयोजना गरिएको हो।
बैठकमा सुनसरी घटनापछिको समग्र अवस्था, सामाजिक सद्भाव कायम गर्ने उपाय तथा राजनीतिक दलहरूको साझा धारणा निर्माणका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।






