काठमाडौँ । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोगको कार्यसम्पादनलाई थप पारदर्शी र उत्तरदायी बनाउन चौमासिक प्रगति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
संसदीय सुनुवाइ समितिमा जारी सुनुवाइका क्रममा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै कार्कीले आफू नियुक्त भएमा कार्यसम्पादन मूल्यांकनसँग सम्बन्धित प्रगति विवरण प्रत्येक चार महिनामा आयोगको वेबसाइटमार्फत सार्वजनिक गर्ने बताएका हुन्।
उनले संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८३ मा रहेको व्यवस्थाअनुसार नतिजामा आधारित कार्ययोजना कार्यान्वयनको अवस्थाबारे नियमित रूपमा जानकारी सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन्।
कार्यविधिमा प्रस्तावित पदाधिकारीले सुनुवाइका क्रममा प्रस्तुत गरेको कार्ययोजनालाई सम्बन्धित निकायमा अभिलेख राखी त्यसको कार्यसम्पादन मूल्यांकन गर्नुपर्ने र प्रगति विवरण नियमित रूपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ। उक्त व्यवस्थाले सार्वजनिक निकायको प्रभावकारिता र जवाफदेहिता बढाउने उद्देश्य राखेको छ।
कार्कीले सोही कानुनी व्यवस्थालाई आधार बनाउँदै निर्वाचन आयोगबाट हुने कामको प्रगति नागरिकसमक्ष पुर्याउने अभ्यास सुरु गर्ने बताएका हुन्। हालसम्म निर्वाचन आयोगका प्रमुख पदाधिकारीबाट चौमासिक रूपमा यस्तो प्रगति विवरण सार्वजनिक गर्ने अभ्यास नभएको अवस्थामा उनले नयाँ व्यवस्था लागू गर्ने योजना अघि सारेका छन्।
उनको भनाइ अनुसार नियमित प्रगति सार्वजनिक गर्ने प्रणालीले संस्थागत पारदर्शिता अभिवृद्धि गर्नुका साथै निर्वाचन व्यवस्थापनसम्बन्धी कामको प्रभावकारिता मूल्यांकन गर्न सहयोग पुग्नेछ।






