काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको धार्मिक झडप र त्यसपछि प्रहरीले गरेको बल प्रयोगका विषयमा नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले प्रतिनिधि सभाको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बरालले सो घटनामा सरकारको उदासीनता र सुरक्षा निकायको कमजोरीका कारण नागरिकको ज्यान गएको आरोप लगाए ।
सांसद बरालका अनुसार देवानगञ्ज-३ स्थित सात दशक पुरानो शिव मन्दिर र त्यसको अगाडिको रामचोकमा मुस्लिम समुदायले मोहरमका क्रममा धार्मिक झण्डा गाडेपछि विवादको बीजारोपण भएको थियो ।
उक्त स्थानबाट १० दिनसम्म पनि झण्डा नहटाउँदा स्थानीय स्तरमा धार्मिक अन्तर्विरोध बढेको र यसको जानकारी प्रहरीलाई हुँदाहुँदै पनि समयमै समन्वय नगरेको उनले बताए ।
साउन १० गते आईतवार राति ‘बोलबम’ का तीर्थयात्री र अर्को समुदायबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले विवेकपूर्ण उपाय अपनाउनुको साटो सिधै बल प्रयोग गरेको एमालेको ठहर छ । उक्त घटनामा स्थानीय ओमप्रकाश महतोको मृत्यु भएको छ भने जयप्रकाश महतो, रवीन्द्र महतो र अमित महतो लगायत १४ जना गम्भीर घाइते भएका छन् । सांसद बरालले सुरक्षा निकायका प्रमुखहरू सो समयमा कार्यक्षेत्रमा अनुपस्थित रहेको र उनीहरूलाई गृहमन्त्रीले राजधानी बोलाएको विषयलाई समेत अर्थपूर्ण रूपमा उठाएका छन् ।
सांसद बरालले सरकारले समस्याको राजनीतिक समाधान खोज्नुको साटो सैन्य बल प्रयोग गरेर दमन गर्ने नीति लिएको आरोप लगाए । विगतमा रौतहट र नेपालगञ्जमा भएका यस्तै घटनाहरूबाट पाठ नसिक्दा अहिलेको अवस्था सिर्जना भएको उनको तर्क छ ।
बहुसंख्यक हिन्दु र अल्पसंख्यक मुस्लिम दुवै समुदायलाई सुरक्षाको प्रत्याभूति दिनु र धार्मिक सहिष्णुता कायम राख्नु सरकारको दायित्व भएको स्मरण गराउँदै एमालेले यस विषयमा सरकार चुकेको बताएको छ ।
सांसद बरालले प्रधानमन्त्री र गृहमन्त्रीलाई तत्काल सदनमा उपस्थित भई जवाफ दिन र राजनीतिक पहलका माध्यमबाट समस्याको दीर्घकालीन समाधान खोज्न सभामुखमार्फत निर्देशनको माग गरेका छन् ।






