काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीसहित मधेशका केही जिल्लामा देखिएको पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्दै सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न सरकार निरन्तर तथा योजनाबद्ध रूपमा अघि बढिरहेको बताएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले नागरिकको सुरक्षा, आपसी विश्वासको वातावरण निर्माण र प्रभावित क्षेत्रको अवस्थालाई सामान्य बनाउने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गरे ।
उनले राज्यका सुरक्षा तथा प्रशासनिक संयन्त्रहरू आवश्यक समन्वय र सतर्कतासहित परिचालन भइसकेको जानकारी दिँदै नागरिकलाई संयमित रहन आग्रह गरे । घटनाबाट प्रभावित नागरिकसम्म पुग्ने, उनीहरूको सुरक्षाको प्रत्याभूति गर्ने र उत्पन्न परिस्थितिको निष्पक्ष अध्ययन गरी आवश्यक कदम चाल्ने कार्यमा सरकार केन्द्रित रहेको प्रधानमन्त्री शाहको भनाइ थियो ।
शान्ति सुरक्षाको अवस्था थप जटिल बन्न नदिन सरकारले विभिन्न तहका निकायबीच समन्वय गर्दै बहुआयामिक पहल अघि बढाइरहेको प्रधानमन्त्री शाहले बताए ।
छलफलका क्रममा उनले जनप्रतिनिधिहरूलाई आफ्नो निर्वाचन क्षेत्रमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्न आग्रह गर्नुभयो । संकटको समयमा जनताको समस्या बुझ्दै राज्य र नागरिकबीच विश्वासको सम्बन्ध बलियो बनाउने भूमिका निर्वाह गर्न सांसदहरूलाई प्रधानमन्त्री शाहले अनुरोध गरे ।
रास्वपाका सांसदहरूले प्रधानमन्त्रीको आग्रहलाई सकारात्मक रूपमा लिँदै प्रभावित क्षेत्रमा पुगेर स्थानीय अवस्था बुझ्ने र सामाजिक एकता कायम गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरूले प्रधानमन्त्रीको राष्ट्रका नाममा भएको सम्बोधनले नागरिकमा विश्वास र सकारात्मक सन्देश प्रवाह गरेको धारणा पनि राखेका थिए ।
छलफलमा सहभागी सांसदहरूले दीर्घकालीन रूपमा शान्ति र सद्भाव कायम गर्न स्थानीय धार्मिक अगुवा, नागरिक समाज, बुद्धिजीवी तथा राजनीतिक दलका प्रतिनिधिबीच निरन्तर संवाद आवश्यक रहेको सुझाव दिएका छन् ।
उनीहरूले सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रम र अफवाह नियन्त्रण गर्न स्थानीय स्तरमा सचेतना अभियान सञ्चालन गर्नुपर्ने तथा प्रभावित क्षेत्रहरूमा एकता, सहिष्णुता र आपसी सम्मानको सन्देश प्रवाहलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।






