काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका लागि आवश्यक प्राविधिक तयारी पूरा गरेको जनाएको छ।
विभागले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उपहार छनोटको विधि, प्रक्रिया तथा प्रणालीबारे जानकारी गराएको छ। सो अवसरमा विभागका प्राविधिक टोलीले नमुना प्रणालीमार्फत उपहार छनोट गर्ने प्रक्रिया पनि प्रस्तुत गरेको थियो।
विभागका महानिर्देशक तथा सहसचिव डा. भीष्मकुमार भुसालका अनुसार कार्यक्रम अन्तर्गत पहिलो चरणको उपहार घोषणा शुक्रबार गरिनेछ।
१५ जनालाई एक-एक लाख, एक जनालाई १० लाख
विभागका अनुसार साउन १ गतेदेखि १५ गतेसम्म वस्तु तथा सेवा खरिद गरेका उपभोक्तामध्ये हरेक दिनको कारोबारका आधारमा १५ जना छनोट गरिनेछन्। उनीहरूले कर कट्टीपछि जनही एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
यस अवधिमा वस्तु तथा सेवा खरिद गरेका सबै योग्य उपभोक्तामध्ये एक जनालाई १० लाख रुपैयाँको बम्पर नगद उपहार पनि प्रदान गरिनेछ। बम्पर पुरस्कार रकममा भने प्रचलित कानुनअनुसार कर लाग्ने विभागले जनाएको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम घोषणा गर्नुभएको थियो।
करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधिअनुसार अबदेखि हरेक महिनाको १६ गते (महिनाको १ देखि १५ गतेसम्मको कारोबार) तथा महिनाको अन्तिम दिन (१६ गतेदेखि महिनाको अन्तिम दिनसम्मको कारोबार) का आधारमा नियमित रूपमा उपहार घोषणा गरिने व्यवस्था गरिएको छ।
बैंक वा डिजिटल वालेटको क्यूआरमार्फत वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता स्वतः कार्यक्रमअन्तर्गत समावेश हुनेछन्। यद्यपि, उपहार दाबी गर्न सम्बन्धित खरिदको बिल उपभोक्तासँग सुरक्षित हुनुपर्ने विभागले जनाएको छ।
नगदमा वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले भने प्यान वा भ्याट बिल अनिवार्य रूपमा मागी आन्तरिक राजस्व विभागको वेबसाइटमा अपलोड गर्नुपर्नेछ। त्यसपछि प्राप्त हुने कुपनमार्फत उनीहरू उपहार कार्यक्रममा सहभागी हुने व्यवस्था गरिएको विभागले जनाएको छ।






