सिरहा । सिरहामा ९१.२५ ग्राम गाँजासहित एक जना पक्राउ परेका छन् भने चार जना फरार भएका छन्।
सखुवानान्कारकट्टी गाउँपालिका–४ सिमरास्थित बलान खोलामा गएराति करिब २:३० बजे पाँच जनाले प्लास्टिकका पाँच वटा बोरामा गाँजा बोकेर ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो।
इलाका प्रहरी कार्यालय महेशवारी र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको संयुक्त गस्ती टोलीलाई देखेपछि उनीहरू बोरा फालेर भागेका थिए। भाग्ने क्रममा प्रहरीले पाँच जनामध्ये एक जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका–४ जमुवा टोलका अन्दाजी ४३ वर्षीय मोहन साह रहेका छन्। प्रहरीले उनीहरूले छाडेका पाँच वटा बोराबाट ९१ किलो २५ ग्राम गाँजा बरामद गरेको जनाएको छ।
फरार चार जनामध्ये दुई जनाको पहिचान खुलेको छ। प्रहरीका अनुसार फरार हुनेमा भगवानपुर गाउँपालिका–४ जमुवा टोलका अन्दाजी ४३ वर्षीय कलेन्द्र यादव र सोही स्थानका अन्दाजी ४५ वर्षीय ब्रह्म यादव रहेका छन्।
अन्य दुई जनाको नाम, थर र वतन खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। फरार व्यक्तिहरूको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको छ।






