सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट प्रहरीले ठुलो परिमाणमा लागूऔषध गाँजासहित चार जनालाई नियन्त्रणमा लिएको छ। आज बिहान करिब ५:३० बजेको समयमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, बराहक्षेत्र नगरपालिका वडा नं. १ स्थित गुप्त बराह–चतरा भित्री सडक खण्डमा गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो। सोही क्रममा बराहक्षेत्रबाट चतरातर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ४८५१ नम्बरको कार र को ११ प ५६०१ नम्बरको मोटरसाइकललाई रोकी जाँच गर्दा २२ वटा प्लास्टिकका पोकामा लुकाइराखेको ४१८ किलो गाँजा फेला परेको हो।
प्रहरीले कार चालक सुनसरीको धरान उपमहानगरपालिका–१३ बस्ने ३४ वर्षीय थमन राई, कारमा सवार ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–५ बस्ने २२ वर्षीया जिबनी राई, मोटरसाइकल चालक मोरङको कटहरी गाउँपालिका–३ बस्ने २६ वर्षीय अमर कामत र मोटरसाइकलमा पछाडि सवार ३८ वर्षीय शंकर चौधरीलाई नियन्त्रणमा लिएको छ।
बरामद गाँजा, कार र मोटरसाइकलसहित पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।






