काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तीन सहकारी संस्थाका थप २२० जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ।
समितिका अनुसार शिव शिखर सहकारीका १६५, कान्तिपुर सहकारीका ५२ र गोरखा सहकारीका तीन जना बचतकर्ताले पहिलो चरणमा आफ्नो रकम प्राप्त गरेका हुन्।
समितिले समस्याग्रस्त सहकारीबाट असुल गरिएको ऋण तथा व्यवस्थापन गरिएको सम्पत्तिबाट प्राप्त रकमलाई बचतकर्ताको रकम फिर्ता गर्ने कार्यमा उपयोग गर्दै आएको जनाएको छ। यसरी प्राप्त स्रोत सम्बन्धित सहकारीका बचतकर्तालाई कानुनी प्रक्रियाअनुसार वितरण भइरहेको समितिको भनाइ छ।
पहिलो चरणमा तुलनात्मक रूपमा कम रकम बचत गरेका सदस्यलाई प्राथमिकतामा राखिएको छ। आगामी चरणमा पनि बचतको परिमाणका आधारमा बचतकर्तालाई वर्गीकरण गर्दै क्रमशः रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइने समितिले जनाएको छ।
समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत स्रोत जुटाएर बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्थाअनुसार निरन्तर सञ्चालन भइरहेको समितिले स्पष्ट पारेको छ।






