काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
मंगलवारबाट शुरु ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले यस्तो बताएका हुन् । अध्यक्ष पाण्डेले नेपालको अटोमोबाइल क्षेत्र उद्योग, व्यवसाय, प्रविधि र उपभोक्तालाई जोड्ने एक महत्त्वपूर्ण मञ्च भएको उल्लेख गर्दै यस प्रकारका प्रदर्शनीले बजारमा नयाँ प्रविधिको जानकारी गराउनुका साथै भावी सम्भावनाहरूलाई उजागर गर्ने विश्वास व्यक्त गरे ।
विगत केही वर्षदेखि मुलुकको अर्थतन्त्र अपेक्षाअनुसार अघि बढ्न नसकेको र मन्दीको असर निजी क्षेत्र, सरकारी राजस्व, रोजगारी तथा उत्पादनमा परेको तर्फ संकेत गर्दै उनले पछिल्लो समय देखिएका सकारात्मक गतिविधिहरू स्वागतयोग्य रहेको बताए । अटोमोबाइल क्षेत्र राजश्व योगदानमा प्रमुख हुनुका साथै निर्माण, पूर्वाधार, ऊर्जा, वित्तीय सेवा र पर्यटन जस्ता क्षेत्रहरूसँग प्रत्यक्ष जोडिएकाले यसको विशेष महत्त्व रहेको उनको भनाइ छ ।
सरकारले चालु आर्थिक वर्षका लागि राखेको ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न पुँजीगत खर्च उल्लेखनीय रूपमा बढाउनुपर्नेमा पाण्डेले जोड दिए। युवा जनशक्तिको पलायन रोक्न उद्योग, पूर्वाधार, सूचना प्रविधि र हरित ऊर्जाका क्षेत्रमा लगानी विस्तार गरी स्वदेशमै गुणस्तरीय रोजगारी सिर्जना गर्न सकिने सम्भावना उनले औँल्याए । यसका लागि स्थिर सरकार, नीतिगत स्थिरता, कानुनी सुधार र लगानीमैत्री वातावरण निर्माण हुनुपर्ने निजी क्षेत्रको माग रहेको उनले स्पष्ट पारे ।
उनले भने, ‘विगत केही वर्षदेखि नेपालको अर्थतन्त्र अपेक्षाअनुसार अघि बढ्न सकेको छैन । आर्थिक मन्दीको असर निजी क्षेत्रसँगै सरकारी राजश्व, रोजगारी, उत्पादन, व्यापार र समग्र आर्थिक गतिविधिमा परेको छ । अटोमोबाइल तथा मोबिलिटी क्षेत्र सरकारलाई महत्त्वपूर्ण राजश्व योगदान गर्ने र ठूलो रोजगारी सिर्जना गर्ने क्षमता भएको क्षेत्र हो । यो निर्माण, पूर्वाधार, ऊर्जा, वित्तीय सेवा, बीमा, पर्यटन तथा यातायातजस्ता क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको छ ।
पछिल्लो समय यस क्षेत्रमा देखिन थालेका सकारात्मक गतिविधि स्वागतयोग्य छन् । चालु आर्थिक वर्षका लागि सरकारले राखेको ७ प्रतिशत आर्थिक वृद्धि लक्ष्य हासिल गर्न पुँजीगत खर्च उल्लेखनीय रूपमा बढाउन आवश्यक छ ।
पुँजीगत खर्च बढ्दा सडक, पुल, ऊर्जा, यातायात र सहरी पूर्वाधारको विकास तिब्र हुन्छ र त्यसको सकारात्मक प्रभाव अर्थतन्त्रका अन्य क्षेत्रमा समेत पर्छ । त्यसैले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्छ भन्ने नेपाल उद्योग परिसंघको स्पष्ट धारणा छ । अटोमोबाइल एक्स्पोहरू व्यापार प्रवद्र्धनका माध्यम मात्र होइनन् यिनले उपभोक्ताको विश्वास बढाउने, नयाँ प्रविधि भित्र्याउने तथा विद्युतीय र हरित मोबिलिटीलाई प्रोत्साहन गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्छन् । नेपालको सबैभन्दा ठूलो शक्ति युवा जनशक्ति हो । हरेक वर्ष हजारौँ युवा विदेशिन बाध्य भइरहेका छन् । उद्योग, पूर्वाधार, सूचना प्रविधि, हरित ऊर्जा, पर्यटन, कृषि प्रशोधन र मोबिलिटी क्षेत्रमा लगानी विस्तार गर्न सके स्वदेशमै ठूलो संख्यामा गुणस्तरीय रोजगारी सिर्जना गर्न सकिन्छ । त्यसैले पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा दिगो लगानी बढाउँदै निजी क्षेत्रको विस्तार र औद्योगिकीकरणलाई प्रोत्साहन गर्न आवश्यक छ । यसले नेपालको दीर्घकालीन आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र समृद्धिको आधार बलियो बनाउनेछ ।’
उनले एक्स्पोले व्यापार प्रवर्द्धन मात्र नगरी उपभोक्ताको विश्वास बढाउने र हरित तथा विद्युतीय मोबिलिटीलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे ।






