काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दीपेन्द्रसिंह ऐरीले पूर्वकप्तान रोहितकुमार पौडेलको नेतृत्वकाल र नेपाली क्रिकेटमा पुर्याएको योगदानको प्रशंसा गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै दीपेन्द्रले रोहितको कप्तानीलाई केवल खेल नेतृत्वका रूपमा सीमित गर्न नहुने बताएका छन् । उनका अनुसार रोहितले टोलीलाई एकताबद्ध बनाउनुका साथै नेपाली क्रिकेटका महत्वपूर्ण र स्मरणीय क्षण निर्माणमा उल्लेखनीय भूमिका खेलेका छन् ।
दीपेन्द्रले १ नोभेम्बर २०२२ देखि १० अगस्ट २०२६ सम्मको अवधिमा रोहितले नेपाली क्रिकेटका लागि आफ्नो समर्पण, लगाव र मेहनत दिएको उल्लेख गरेका छन् । कप्तानीका क्रममा उनले टोलीसँगै समग्र नेपाली क्रिकेट समर्थकमा समेत उत्साह र विश्वास पैदा गर्न योगदान गरेको दीपेन्द्रको भनाइ छ ।
रोहितको योगदानलाई खेलका तथ्यांक, उपाधि वा जितको संख्याबाट मात्र मूल्यांकन गर्न नसकिने उल्लेख गर्दै दीपेन्द्रले उनको नेतृत्वले लाखौँ क्रिकेटप्रेमीमा सिर्जना गरेको आशा र आत्मविश्वासलाई पनि महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन् ।
कम उमेरमै नेपाली क्रिकेटका लागि रोहितले पुर्याएको योगदानलाई उल्लेख गर्दै दीपेन्द्रले उनको कप्तानीबाट भएको बिदाइलाई यात्राको समाप्तिका रूपमा नलिन आग्रह गरेका छन् । कप्तानीको जिम्मेवारीबाट बाहिरिए पनि रोहितको क्रिकेट करियरमा नयाँ चरण सुरु हुने उनको विश्वास छ ।
दीपेन्द्रले रोहितलाई नेतृत्वका लागि धन्यवाद दिँदै नेपाली क्रिकेटलाई गर्व गर्ने धेरै अवसर सिर्जना गर्न पुर्याएको योगदानप्रति सम्मान व्यक्त गरेका छन् ।






