काठमाडौँ । विशेष अदालतले व्यवसायी दीपक भट्टविरुद्ध दायर सम्पत्ति शुद्धीकरणसम्बन्धी पूरक मुद्दामा उनलाई नि:सर्त रिहा गर्न आदेश दिएको छ। यद्यपि, मूल मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने यसअघिको आदेश कायमै रहेकाले भट्ट तत्काल रिहा हुने छैनन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टविरुद्ध यसअघि दायर गरेको मूल मुद्दामाथि थप अनुसन्धान गर्दै पूरक अभियोगपत्र दर्ता गरेको थियो। उक्त पूरक मुद्दामा पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई समेत मतियारका रूपमा प्रतिवादी बनाइएको छ।
विशेष अदालतले बुधबार पूरक मुद्दाका सन्दर्भमा भट्टलाई तारिखमा राख्न आवश्यक नदेखिएको तथा थप धरौटीसमेत लिनु नपर्ने आदेश गरेको हो। तर उनीविरुद्धको मूल मुद्दामा भएको थुनछेक आदेश यथावत् रहेकाले पूरक मुद्दाको आदेशकै आधारमा कारागारबाट छुट्न पाउने अवस्था छैन।






