काठमाडौँ । नाइमा अटो एक्स्पो २०२६ लाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले नयाँ सवारीसाधन खरिद गर्ने ग्राहकका लागि सहुलियतपूर्ण अटो लोन योजना सञ्चालनमा ल्याएको छ। योजनाअन्तर्गत बैंकले सुरुवाती ब्याजदर ५.२५ प्रतिशत कायम गरेको जनाएको छ।
बैंकका प्रतिनिधि मञ्जिल विष्टका अनुसार कर्जा बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थप गरी उपलब्ध गराउने व्यवस्था गरिएको छ। हाल ४.७५ प्रतिशत आधारदरमा प्रिमियम जोडिँदा न्यूनतम ब्याजदर ५.२५ प्रतिशत कायम भएको र आधारदर परिवर्तन भएमा कर्जाको ब्याजदर पनि सोहीअनुसार समायोजन हुने उनले बताए।
ग्राहकलाई सवारीसाधन खरिदका लागि वित्तीय प्रक्रिया सहज बनाउने उद्देश्यले बैंकले एक्स्पो परिसरमै स्टल राखेर कर्जा आवेदनदेखि प्रक्रियासम्मको सेवा उपलब्ध गराइरहेको छ। ग्राहकले स्टलबाटै आफ्नो कर्जा क्षमता तथा आवश्यक प्रक्रियाबारे जानकारी लिन सक्ने बैंकले जनाएको छ।
बैंकका अनुसार आवेदनका लागि आवश्यक कागजात पूरा गरी प्रक्रिया अघि बढाउँदा कर्जा स्वीकृत हुन सामान्यतः तीन दिन लाग्नेछ। यो सुविधा काठमाडौँमा मात्र सीमित नराखी देशभरका बैंकका ३४१ शाखामार्फत उपलब्ध गराइएको बैंकको भनाइ छ।
कर्जा प्रक्रियालाई थप सहज बनाउन बैंकले डिजिटल प्रणालीको प्रयोगलाई समेत प्राथमिकता दिएको जनाएको छ। ग्राहकको वित्तीय आवश्यकता मूल्यांकनदेखि आवेदन प्रक्रियासम्मलाई सरल बनाउने गरी सेवा सञ्चालन गरिएको बैंकले बताएको छ।
मंगलबारदेखि सञ्चालनमा रहेको नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ५१ वटा स्टलमार्फत ५५ भन्दा बढी ब्रान्ड सहभागी छन्। एक्स्पोमा ४० भन्दा बढी नयाँ मोडलका सवारीसाधन प्रदर्शनमा राखिएको जनाइएको छ।






