काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका विभिन्न अस्पतालमा डायलाइसिस सेवा विस्तार गर्ने निर्णय गरेको छ। नवनियुक्त मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले डायलाइसिस शय्या थप गर्दै मिर्गौलाका बिरामीको उपचारमा पहुँच बढाउने निर्णय गरेको हो।
शुक्रबार पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालेपछि मुख्यमन्त्री भट्टले मन्त्रिपरिषद्को पहिलो बैठक बोलाएका थिए। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठकले प्रादेशिक, जिल्ला तथा अन्य अस्पतालमा आवश्यकताअनुसार डायलाइसिस शय्या विस्तार गर्ने निर्णय गरेको छ।
निर्णयअनुसार सेती प्रादेशिक अस्पतालमा पाँच, महाकाली प्रादेशिक अस्पतालमा चार र टीकापुर प्रादेशिक अस्पतालमा तीनवटा डायलाइसिस शय्या थपिनेछन्। लम्कीचुहा अस्पतालमा पनि पाँचवटा शय्या विस्तार गरिनेछ।
यसैगरी, बयलपाटा र जोगबुडा प्रादेशिक अस्पतालसहित प्रदेशका सबै जिल्ला अस्पतालमा दुई-दुईवटा डायलाइसिस शय्या थप गर्ने निर्णय गरिएको छ।
प्रदेशका सीमित अस्पतालमा मात्र डायलाइसिस सेवा उपलब्ध हुँदा नियमित उपचार आवश्यक पर्ने बिरामीले लामो दूरी तय गर्नुपर्ने अवस्था छ। सेवा विस्तारपछि मिर्गौलाका बिरामीलाई आफ्नै जिल्ला वा नजिकको अस्पतालबाट उपचार प्राप्त गर्न सहज हुने प्रदेश सरकारको अपेक्षा छ।
बैठकले विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरेको छ।
शुक्रबार मुख्यमन्त्री भट्टसँगै नेकपा एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका थिए। पहिलो मन्त्रिपरिषद् बैठकमा सामाजिक विकास मन्त्री सन्तोष शर्मा थापा, आर्थिक मामिलामन्त्री चक्र मल्ल तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दमन भण्डारी सहभागी थिए।
पदभार ग्रहणपछि मुख्यमन्त्री तथा मन्त्रीहरूले नागरिकमैत्री र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्। संघीयताको मर्मअनुसार प्रदेश संरचनालाई प्रभावकारी बनाउँदै सुशासन, पारदर्शिता र सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गर्ने गरी काम गर्ने उनीहरूले बताएका छन्।






