काठमाडौँ । विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेजेड) को कार्यकारी निर्देशक नियुक्तिका लागि तीन जना उम्मेदवारको नाम सरकारसमक्ष सिफारिस गरिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत कार्यकारी निर्देशक छनोटका लागि गठित समितिले प्राप्त आवेदनमध्ये मूल्यांकन गरी तीन जनाको नाम सिफारिस गरेको हो ।
सिफारिसमा गोरखाका कृष्ण सिंह बस्नेत, दैलेखका बखत बहादुर शाही र काठमाडौँका बुद्धकाजी श्रेष्ठ रहेका छन् । उक्त पदका लागि कुल नौ जनाले आवेदन दिएका थिए ।
समितिले छनोट प्रक्रिया पूरा गरी तीन जनाको नाम सिफारिस गरेसँगै अब नियुक्तिको निर्णय मन्त्रिपरिषद्बाट हुनेछ । कार्यकारी निर्देशकको अन्तिम नियुक्ति मन्त्रिपरिषद्को निर्णयपछि हुने मन्त्रालयले जनाएको छ ।







