काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको कार्यदिशा सुशासन, उत्पादन वृद्धि, रोजगारी सिर्जना र दिगो विकासमा केन्द्रित गर्ने बताएका छन् ।
उनले विकासको लाभ निश्चित सहर वा क्षेत्रसम्म सीमित नराखी प्रदेशका सबै भूगोल र समुदायमा समान रूपमा पुर्याउने नीति लिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रदेशसभामा विश्वासको मत माग्ने क्रममा मुख्यमन्त्री भट्टले हिमाल, पहाड र तराईबीच विकासका अवसरमा सन्तुलन कायम गर्ने बताएका हुन् । उनका अनुसार प्रदेशको विकास नीति समानुपातिक तथा समावेशी अवधारणामा आधारित हुनेछ ।
उनले कुनै पनि भूगोल, वर्ग, समुदाय वा नागरिक विकासका अवसरबाट वञ्चित हुन नहुने धारणा राखे । प्रदेशका सबै क्षेत्रलाई समान प्राथमिकतामा राख्दै सार्वजनिक सेवा र विकासका अवसरको पहुँच विस्तार गर्ने उनको भनाइ छ ।
मुख्यमन्त्री भट्टले विकासको अवधारणालाई भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नगर्ने स्पष्ट पारे । शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, रोजगारी तथा उद्यमशीलतालाई मानव विकाससँग जोडेर प्रदेशको समग्र विकासको आधार बनाइने उनले बताए ।
नागरिकको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रमलाई सरकारको प्राथमिकतामा राखिने उल्लेख गर्दै उनले सामान्य नागरिकले समेत आफ्नो भविष्यप्रति आशावादी हुने वातावरण निर्माण गर्नु सरकारको मुख्य उद्देश्य रहने बताए ।
उनले प्रदेशमा उत्पादन र रोजगारीका अवसर विस्तार गर्दै सरकारका नीति तथा कार्यक्रमलाई जनजीवनमा देखिने परिवर्तनसँग जोडेर कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।






