काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र चुहावटसम्बन्धी घटनामा पक्राउ परेका तीन जना जनही २ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।
प्रश्नपत्र चुहावटबारे साइबर ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानपछि सात जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो।
तीमध्ये पक्राउ परेका केएमसी कलेज, बागबजार र हिमालय कलेज, कोटेश्वरमा व्यवस्थापन संकायअन्तर्गत फाइनान्स विषय अध्यापन गर्ने ३३ वर्षीय सन्दीप सिंह, रौतहटका २५ वर्षीय अतुलकुमार मिश्र र बाराका ३१ वर्षीय अब्दुल सानी हाकिम धरौटीमा छुटेका हुन्।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजलासले उनीहरूलाई जनही २ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो। अदालतको आदेश अनुसार धरौटी रकम बुझाएपछि तीनै जना रिहा भएको अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिएका छन्।
मुद्दामा बारा र पर्साका थप चार जनालाई समेत प्रतिवादी बनाइएको छ। बारा घर भएका ३० वर्षीय ऋषिकेशप्रसाद यादव तथा पर्साका २५ वर्षीया खुश्बु गिरी, २५ वर्षीय देवनाथ महतो र २७ वर्षीया रन्जु कुमारी गिरीलाई पक्राउ गर्न बाँकी रहेकाले फरार प्रतिवादीका रूपमा मुद्दा अघि बढाइएको छ।
प्रहरीका अनुसार हालसम्म अनुसन्धानबाट प्रश्नपत्र चुहावटमा यी सात जनाबाहेक अन्य व्यक्तिको संलग्नता पुष्टि भएको छैन। गत ८ साउनमा एमबीएस प्रथम सेमेस्टरको बिहेबियर विषयको प्रश्नपत्र परीक्षा सुरु हुनुअघि नै ह्वाट्सएपमा समूह बनाएर बाहिरिएको अनुसन्धानबाट खुलेको थियो।
घटनालाई गम्भीर रूपमा लिएर सीआईबीसहितका निकायले अनुसन्धान अघि बढाएको भए पनि पक्राउ परेका तीनै जना अदालतको आदेशपछि न्यून धरौटीमा रिहा भएका छन्। बाँकी प्रतिवादीको हकमा भने पक्राउ तथा अनुसन्धानको प्रक्रिया अघि बढ्न बाँकी छ।






