काठमाडौँ । होटेल संघ नेपाल (हान)ले क्यासिनो सञ्चालन गर्ने तारे होटेलमा होटेलको १० प्रतिशत सेयर अनिवार्य हुनुपर्ने प्रस्तावित व्यवस्था हटाउन माग गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन विधेयक, २०८१ माथिको छलफलमा बोल्दै उनले हान अध्यक्ष विनायक शाहले यस्तो माग गरेका हुन् ।
शाहले चारतारे र पाँचतारे होटेलमा क्यासिनो सञ्चालन गर्न पाउने व्यवस्था गरे पनि क्यासिनोमा सम्बन्धित होटेलको १० प्रतिशत सेयर अनिवार्य गर्ने प्रावधान उचित नहुने तर्क गरे ।
उनले क्यासिनो सञ्चालनमा होटेललाई अनिवार्य रूपमा साझेदार बनाउँदा क्यासिनो बन्द भएपछि त्यसबाट उत्पन्न हुने कानुनी तथा आर्थिक दायित्वसमेत होटेलले व्यहोर्नुपर्ने अवस्था आउने उनको भनाइ छ । उनले होटेल व्यवसायीहरूले आज पनि क्यासिनोसम्बन्धी मुद्दा मामिला झेलिरहेको गुनासो पनि गरे ।
उनले क्यासिनोमा होटेलले लगानी गर्न चाहेमा मात्र सेयर लिन पाउने व्यवस्था गर्नुपर्ने बताए । उनले शाहले प्रस्तावित विधेयकको दफा ४० मा क्यासिनोमा वैदेशिक संयुक्त लगानीलाई अनुमति दिने व्यवस्था गरिएको तर होटेल व्यवसायको क्षेत्रलाई नगरिएकोप्रति गुनासो समेत गरे।
उनले सरकारले क्यासिनोको आम्दानीबाट २ प्रतिशत अनिवार्य रूपमा संस्थागत सामाजिक उत्तरदायित्वमा लगानी गर्नुपर्ने व्यवस्था गरेको भन्दै होटेललाई समेत सामाजिक उत्तरदायित्वमा केही प्रतिशत खर्च गर्न पाउनुपर्ने बताए ।
उनले भने, ‘यस विधेयकले चार तारे र पाँच तारे होटेलमा क्यासिनो सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ । अनि होटेलको १० प्रतिशत सेयर पनि दिनुपर्छ भनेको छ । होटेलको सेयर भएर अब क्यासिनो चलाउनुहुन्छ अनि क्यासिनो बन्द भएर त्यो भागिसकेको हुन्छ अनि त्यसको मार चाहिँ होटेलले आज पनि भोगिरहेका छौँ । मुद्दा मामला गरिरहेका छौँ, जरिवाना तिरिरहेका छौँ र हामीले धेरै पटक छलफल गर्दाखेरि त्यो क्यासिनोमा होटेलको सेयर हुनु हुँदैन । ऐच्छिक हुनुपर्छ । चाहेको खण्डमा मात्र लिन पाउनुपर्छ । तर मस्यौदाले अनिवार्य, म्यान्डेटरी गरेको छ, त्यो हुनु हुँदैन भन्ने हाम्रो जोडदार माग छ । होटेलहरूले त्यसलाई मान्दैनन् र हामीले क्यासिनोहरूमा पनि धेरै पटक छलफल गर्दाखेरि यो नगर्ने भनेर निर्णय त भएको थियो तर अब कालन्तरमा यो कुरा हुँदाखेरि अहिले पनि यसमा १० प्रतिशत अनिवार्य शेयर हुनुपर्छ भनेर आइरहेको छ । यो हुनु हुँदैन । अब दफा ४० ले चाहिँ क्यासिनोमा वैदेशिक संयुक्त लगानीलाई अलाउ गरेको छ । अब क्यासिनोमा चाहिँ हुने, हाम्रो होटेलहरूमा किन नहुने ? होटेलहरूमा आज ४० भन्दा बढी अन्तर्राष्ट्रिय ब्राण्ड होटेलहरू छन् । त्यसकारणले नेपालमा अब टेक्नोलोजी ल्याउनलाई विदेशीहरूले नेपालमा आएर काम गर्न इच्छुक छन् । उहाँहरूलाई पनि समेट्नु पर्छ । त्यसकारणले यो मस्यौदामा क्यासिनोलाई जस्तै विदेशी लगानीलाई पनि यसलाई प्रोत्साहन गर्नुपर्छ भन्ने हाम्रो हाम्रो मान्यता हो । त्यस्तै अब दफा ४२ ले चाहिँ क्यासिनोको खुद आयको २ प्रतिशत चाहिँ उसले सोसल रेस्पोन्सिबिलिटी, सीएसआरमा खर्च गर्न पाउँछ भनेर भनेको छ । हाम्रो माग के भन्दाखेरि होटेलहरूले पनि सीएसआर जुन अब बजेटमा एक पटक आएको छ तर त्यो लागू भएको छैन, अर्थ मन्त्रालयसँग नै सोधायो फाइल हो । अब होटेलहरूको खुद आम्दानीमा केही मात्रामा सीएसआरमा उसले खर्च गर्न पाओस् ।’
प्रस्तावित विधेयकले सगरमाथा आरोहण गर्न कम्तीमा सात हजार मिटरभन्दा अग्लो कुनै एउटा हिमालचुली आरोहण गरेकै हुनुपर्ने व्यवस्था समेत प्रस्ताव गरेको छ ।






