काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कार्यरत उपसचिव मोहनप्रसाद कोइरालाले स्वैच्छिक अवकाशका लागि निवेदन दिएका छन्।
नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिव कोइरालाले पारिवारिक तथा व्यक्तिगत कारणले सेवालाई निरन्तरता दिन कठिनाइ भएको उल्लेख गर्दै २०८३ भदौ १० गतेदेखि लागू हुने गरी स्वैच्छिक अवकाश उपलब्ध गराउन मन्त्रालयका सचिवसमक्ष निवेदन दिएका हुन्।
कोइरालाले आफू २०४८ साल फागुन २१ गतेदेखि नेपाल सरकारको निजामती सेवामा स्थायी नियुक्त भई विभिन्न सरकारी निकायमा जिम्मेवारी सम्हाल्दै आएको निवेदनमा उल्लेख गरेका छन्।
उनले निजामती सेवा ऐन, २०४९ को दफा ३७(३) अनुसार सेवा सुविधा पाउने व्यवस्थासहित स्वैच्छिक अवकाश उपलब्ध गराउन माग गरेका छन्।
निवेदनसँगै सहलेखापाल पदको राजीनामा स्वीकृत पत्र, नायब सुब्बा पदमा नियुक्तिसम्बन्धी पत्र, निजामती किताबखानाबाट नोकरी अवधि जोडिएको पत्र, निजामती किताबखानामा रहेको नोकरी विवरणसम्बन्धी कागजात र नागरिकता प्रमाणपत्रको प्रतिलिपि संलग्न गरिएको छ।
कोइरालाले निवेदनमा स्वेच्छाले निर्णय लिएको र त्यसमा कुनै किसिमको दबाब नरहेकोसमेत स्पष्ट पारेका छन्। निवेदन दिएपछि राजीनामाका विषयमा कुनै दाबी वा उजुरबाजुर नगर्ने व्यहोरासमेत उनले उल्लेख गरेका छन्। उनको सेवाअवधि करीब दुई वर्ष बाँकी रहेको थियो ।
३० चर्चाबीच धमाधम राजिनामा दिँदै कर्मचारी






