काठमाडौँ । लगानी बैंकर तथा वित्तीय अर्थविद् मुक्ति अर्यालले नेपालमा विदेशी प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउन र आर्थिक समृद्धिका लागि पुँजी बजारको सुदृढीकरण तथा नीतिगत सुधार अपरिहार्य रहेको बताएका छन् ।
नेपाली काँग्रेसद्वारा आयोजित ‘नेपालको पुँजी बजार: आर्थिक लगानीको आधार’ विषयक संवाद कार्यक्रममा बोल्दै अर्यालले पुँजी बजारलाई स्रोत परिचालन र पुँजी लगानीको सबैभन्दा भरपर्दो माध्यमका रूपमा चित्रण गरेका हुन् । उनले कुनै पनि व्यवसाय विस्तारका क्रममा व्यक्तिगत स्रोत, पारिवारिक ऋण र बैंक कर्जाले मात्र नपुग्ने अवस्थामा पुँजी बजार नै अन्तिम र प्रभावकारी विकल्प हुने उल्लेख गरे ।
अर्यालले पुँजी बजार केवल शेयर खरिद-विक्रीमा मात्र सीमित नभई यो एक वृहत संयन्त्र भएको बताए । नेपालमा समय-समयमा आयोजना गरिने लगानी सम्मेलनको प्रभावकारितामाथि प्रश्न उठाउँदै अर्यालले बाह्य लगानी भित्र्याउन केवल सम्मेलन मात्र पर्याप्त नहुने तर्क गरे । हाल नेपालमा वार्षिक औसत १२ अर्ब रुपैयाँ बराबरको मात्र एफडीआई भित्रिएको बताए ।
अन्तर्राष्ट्रिय लगानीकर्ताहरूको मनोभावना उल्लेख गर्दै अर्यालले नेपालको सानो बजार र कमजोर कानूनी संरचनाका कारण विदेशी लगानीकर्ताहरू आकर्षित हुन नसकेको बताए ।
उनले भने, ‘अहिले प्राइभेट इक्विटी, भेन्चर क्यापिटल, एन्जल इन्भेस्टर, क्राउड फन्डिङ र आईपीओ जस्ता आधुनिक अवधारणाहरू पुँजी बजारकै अभिन्न अंग हुन् । यी संयन्त्रहरूलाई प्रभावकारी र सिर्जनशील बनाउन सके मात्रै लगानीको उचित वातावरण निर्माण हुन्छ । यति बराबरको पुँजी त हाम्रो घरेलु पुँजी बजारले नै तत्काल जुटाउन सक्छ । त्यसैले विदेशी लगानीका लागि हामीले उनीहरूको आवश्यकता र अन्तर्राष्ट्रिय अभ्यास बुझ्न जरुरी छ । मैले वाल स्ट्रिटमा रहँदा चिनियाँ र भारतीय बजारमा लगानी गर्ने ठूला कम्पनीका प्रमुखहरूसँग छलफल गर्दा उनीहरूले नेपालको कमजोर नियमन र साँघुरो बजारका कारण यहाँ लगानी गर्न चासो नदेखाएको पाएँ । विदेशी लगानी कसैको दया, माया वा अनुरोधका भरमा आउँदैन । यसका लागि सरकारले लगानी सम्मेलन गर्नुअघि आफ्ना कानून, नियम, विधि र प्रक्रियाहरूलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुधार गर्नुपर्छ । तब मात्र विदेशी लगानीकर्ताहरू आफैँ आकर्षित हुनेछन् ।’
छिमेकी मुलुकहरू चीन र भारतबीच वैदेशिक लगानी आकर्षित गर्न तिब्र प्रतिस्पर्धा भइरहेको उदाहरण दिँदै उनले नेपालले पनि आफ्नो कार्य वातावरणलाई थप प्रभावकारी, चुस्त र आकर्षक बनाउनुपर्नेमा जोड दिएका छन् ।






