काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई तीव्र पारिएको छ । तीनवटै सुरक्षा निकायको समन्वयमा बाढीमा परेका गम्भीर घाइतेको तत्काल प्राथमिक उपचार गर्ने कार्य भइरहेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
आपत्कालीन सडक उद्धारका लागि आवश्यक उपकरणसहित चिकित्सा तथा उद्धार टोली बाढी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । सतुङ्गलस्थित एपिएफ अस्पतालमा बाढी प्रभावितको सुविधाका लागि शय्या खाली गरिएको छ ।
रसुवाभन्दा तलका तटीय क्षेत्र (नुवाकोट, धादिङ र चितवन) मा रहेका सशस्त्र प्रहरीका युनिटलाई विपद् उद्धारका लागि अलर्ट अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।
नदी किनारका जोखिमयुक्त बस्तीमा सशस्त्रका गाडी तथा गस्ती टोलीमार्फत सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानमा सर्न सूचना प्रवाह गरिएको छ ।
नुवाकोटको सदरमुकाम बिदुरमा अस्थायी स्वास्थ्य सेवा स्थापना तथा सुचारु गर्ने कार्य भइरहेको सहप्रवक्ता थापाले जानकारी दिए।
सशस्त्र प्रहरी बलका इकाईमा तयारी अवस्थामा राखिएका आपत्कालीन राहत तथा उद्धार सामग्रीसहितका कन्टेनर आवश्यकताअनुसार प्रभावित क्षेत्रमा तत्काल पुर्याउने काम भइरहेको छ । देशका अन्य भागमा रहेका कन्टेनरलाई बाढी प्रभावित क्षेत्रतर्फ केन्द्रित र परिचालन गर्ने कार्य भइरहेको छ ।
भोटेकोशीरत्रिशूली नदीको माथिल्लो तटीय क्षेत्रमा थप सम्भावित हिमताल विस्फोट हुनसक्ने वा थप बाढीको जोखिमबारे पूर्व सूचना प्राप्त गर्न र क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको निरन्तर संवाद तथा सूचना आदान-प्रदान भइरहेको छ ।
नदी किनारका जोखिमयुक्त बस्ती, मुख्य सडक खण्ड र कोरिडोरमा खसेको पहिरो हटाई उद्धार तथा अत्यावश्यक यातायात सञ्चालनका लागि बाटो खुलाउने काम तीव्र पारिएको सहप्रवक्ता थापाले जानकारी दिए।
नदी किनार र बाढी प्रभावित क्षेत्रमा थुनिएका तथा हराइरहेका नागरिकको पहिचान गर्न तथा बाढीको क्षति मूल्याकङ्न गर्न सशस्त्र प्रहरीले ड्रोन परिचालन गरेको छ । रसुवागढी भन्सार यार्डसहित बाढी प्रभावित क्षेत्रमा पुरिएका व्यक्तिको खोजीका लागि सशस्त्र प्रहरीको कुकुरसहितको खोजी तथा उद्धार टोली परिचालन भएको छ ।
बाढी प्रभावित क्षेत्रमा आपत्कालीन हेलिप्याड तयार गरी नेपाली सेना तथा निजी उद्धार हेलिकप्टरको सुरक्षित उडान र अवतरणको व्यवस्था मिलाइएको छ ।
विस्थापित शिविरमा हैजा तथा पानीजन्य रोग फैलिन नदिन सशस्त्र प्रहरीको टोलीले आपत्कालीन खानेपानी शुद्धीकरण गर्ने औषधि वितरण गर्ने कार्य गर्न निर्देशन भइसकेको छ ।
Bhawana
बाढी प्रभावित क्षेत्रका सांसदसँग प्रधानमन्त्री शाहको परामर्श
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न परिस्थितिबारे बाढी प्रभावित क्षेत्रका संघीय सांसदहरूसँग परामर्श गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज भएको भेटमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका सङ्घीय सांसदसँग बाढीबाट भएको क्षति, तटीय क्षेत्रका बस्तीको अवस्था तथा उद्धार र राहतका विषयमा छलफल भएको हो ।
सांसदहरूले आ-आफ्नो क्षेत्रमा बाढीबाट परेको असर तथा उद्धार र राहतका लागि आवश्यक कदमबारे प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका थिए ।
यसअघि प्रधानमन्त्री शाहले आजै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएर बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था तथा खोज, उद्धार र राहत कार्यको प्रगतिबारे जानकारी लिएका थिए ।
प्रधानमन्त्री शाहले सरकार प्रभावित नागरिकको सुरक्षा तथा राहतका लागि पूर्ण प्रतिबद्धताका साथ परिचालन भएको बताए । उनले तल्लो तटीय क्षेत्रमा थप सतर्कता अपनाउन तथा विस्थापितलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न मातहतका निकायलाई स्पष्ट निर्देशन दिइसकिएको जानकारी गराए ।
सरकारले बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकायका टोली परिचालन गरी खोज तथा उद्धार कार्यलाई तीव्र गतिमा अघि बढाएको छ ।






