काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धारका क्रममा निजी हेलिकप्टरको उडानलाई सरकारी समन्वयमा सञ्चालन गर्न निर्देशन दिइएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, गोरखा, धादिङ र चितवनका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै खोज तथा उद्धारमा प्रयोग हुने हेलिकप्टरको उडान व्यवस्थित गर्न भनेको हो।
प्राधिकरणका अनुसार निजी हेलिकप्टरहरू आ–आफ्नै ढंगले सञ्चालन हुँदा प्रभावित क्षेत्रमा हवाई ट्राफिक बढ्ने र त्यसबाट दुर्घटनाको जोखिमसमेत बढ्न सक्ने देखिएपछि उडानमा समन्वय गर्न निर्देशन दिइएको हो।
हेलिकप्टरमार्फत खोज तथा उद्धार गर्नुपर्ने अवस्थामा सम्बन्धित जिल्लाको जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गरी व्यवस्थित रूपमा उद्धार कार्य अघि बढाउनुपर्ने प्राधिकरणले जनाएको छ।
नेपाली सेनाको हेलिकप्टर आवश्यक परे जिल्ला सुरक्षा समितिले सम्बन्धित जिल्लामा रहेको सेनाको टोलीसँग समन्वय गर्नुपर्नेछ। निजी हेलिकप्टर आवश्यक परेको अवस्थामा भने प्राधिकरणले तोकेका सम्पर्क व्यक्तिसँग समन्वय गरी तत्काल उद्धारको व्यवस्था मिलाउन भनिएको छ।
निजी हेलिकप्टर व्यवस्थापन तथा समन्वयका लागि प्राधिकरणले हेली एभरेस्टका सचित अर्याल, अल्टिच्युड एयरका मिङ्मा शेर्पा र एयर डाइनेस्टीका बालकृष्ण पण्डितलाई सम्पर्क व्यक्ति तोकेको छ।
बाढी प्रभावित क्षेत्रमा जथाभावी उडान हुँदा हुन सक्ने सम्भावित हेलिकप्टर दुर्घटना तथा अन्य प्राविधिक जोखिमलाई ध्यानमा राखेर यस्तो व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ।






