काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको विपद्को जोखिम सामना गर्न नेपाल, भारत र चीनबीच समन्वित सहकार्य आवश्यक रहेको बताएका छन्।
काठमाडौँमा बिहीबार आयोजित ‘एनडीटीभी अन्विक्षा : आइडियाज एक्रस बोर्डर्स’ कार्यक्रममा बोल्दै लामिछानेले रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको सन्दर्भमा विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कार्यक्रमका सहभागीलाई एक मिनेट मौनधारण गर्न आग्रह गरे।
उनका अनुसार बाढीका कारण भोटेकोशी र त्रिशूली जलाधार क्षेत्रका बस्ती, जलविद्युत् आयोजना, सडक, पुललगायतका संरचनामा क्षति पुगेको छ। क्षतिको यकिन विवरण संकलन भइनसकेको भन्दै उनले सरकारले सुरक्षा निकायमार्फत खोज तथा उद्धारलाई निरन्तरता दिइरहेको र प्रभावित क्षेत्रमा राहत पुर्याउने काम अघि बढाएको जानकारी दिए।
विपद्को समयमा उद्धारमा खटिएका सुरक्षाकर्मी र स्थानीय समुदायको भूमिकाको प्रशंसा गर्दै लामिछानेले बाह्य सहयोग आइपुग्नुअघि नै स्थानीय बासिन्दा पहिलो उद्धारकर्ताका रूपमा परिचालित हुने गरेको बताए। नेपाललाई सहयोग र ऐक्यबद्धता जनाउने मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायप्रति पनि उनले धन्यवाद व्यक्त गरे।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री वालेन्द्र शाहलाई टेलिफोनमार्फत समवेदना व्यक्त गर्नुका साथै आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको उल्लेख गर्दै लामिछानेले भारतबाट राहत सामग्रीसमेत प्राप्त भएको बताए। अन्य अन्तर्राष्ट्रिय साझेदारले पनि सहयोगका लागि तत्परता देखाएको उनको भनाइ थियो।
लामिछानेले पछिल्लो बाढीको प्रभाव नेपालमा मात्र सीमित नरही सीमापार चीनसम्म पुगेको उल्लेख गर्दै हिमाली क्षेत्रका विपद्लाई राष्ट्रिय सीमाभित्र मात्र हेर्न नहुने धारणा राखे। नेपाल, भारत र चीन एउटै हिमाली प्रणालीसँग जोडिएकाले नदी प्रणाली, हिमनदी तथा जलवायुजन्य जोखिमका विषयमा तीन देशबीच सहकार्य अपरिहार्य रहेको उनले बताए।
उनले हिमालय क्षेत्रमा हिमनदी पग्लिने क्रम बढ्नु तथा हिउँ भएका क्षेत्रमा ताल निर्माण हुनुले जोखिम थपिरहेको उल्लेख गर्दै विपद्को असर घटाउन पूर्वसूचना प्रणाली सुदृढ गर्नुपर्नेमा जोड दिए। साथै, जोखिमसम्बन्धी तथ्यांक र सूचना सीमापार तत्काल आदानप्रदान गर्ने व्यवस्था विकास गर्नुपर्ने उनको भनाइ छ।
जलवायु परिवर्तनका प्रभावलाई तत्काल उल्टाउन नसकिने भएकाले त्यसअनुकूल जोखिम व्यवस्थापन र अनुकूलनका योजना अघि बढाउनुपर्ने लामिछानेले बताए। प्रभावकारी पूर्वसूचना प्रणालीले सम्भावित विपद्बाट प्रभावित परिवारलाई सुरक्षित स्थानमा पुग्न जीवन रक्षक समय उपलब्ध गराउन सक्ने उनको तर्क थियो।
बाढीमा आफन्त, घर तथा बस्ती गुमाएका परिवारप्रति ऐक्यबद्धता जनाउँदै लामिछानेले अहिले मुलुक शोकको अवस्थामा रहेको बताए। विपद्को समयमा नेपाललाई सहयोग तथा समर्थन गर्ने विदेशी सरकार, द्विपक्षीय तथा बहुपक्षीय संस्था, विकास साझेदार र सर्वसाधारणप्रति उनले आभार व्यक्त गरे।
यसै कारण कार्यक्रमका लागि तय गरिएको ‘आकांक्षी नेपाल र उदाउँदो भारत : सँगै हाम्रो भविष्य निर्माण’ विषयमा आफ्नो धारणा प्रस्तुत गर्न नसकेको भन्दै उनले क्षमासमेत मागे। उक्त विषयमा आगामी दिनमा विचार राख्ने अवसर प्राप्त हुने विश्वास उनले व्यक्त गरेका छन्।






