काठमाडौँ । चीनका राष्ट्रपति सी जिनपिङले बाढी र पहिरोका कारण सिर्जना भएको नयाँ अवरोध तालको अवस्था तथा त्यससँग जोडिएका सम्भावित जोखिमलाई प्राथमिकतामा राखेर निगरानी र सुरक्षा उपाय प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेताहरूको शुक्रबार बसेको आकस्मिक बैठकमा राष्ट्रपति सीले विपद्पछिको उद्धार तथा राहत कार्यसँगै नयाँ बनेको ताल र त्यस वरपरको भौगोलिक अवस्थाको निरन्तर अनुगमन गर्न अधिकारीहरूलाई आग्रह गरेका हुन्।
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार पहिरोले थुनिएको क्षेत्रमा पानीको अवस्था, आसपासका पहाडको स्थायित्व तथा थप विपद् निम्तिन सक्ने परिस्थितिमाथि नजिकबाट निगरानी राख्न सीले निर्देशन दिएका छन्। सम्भावित जोखिम नियन्त्रणका लागि आवश्यक सुरक्षा तथा रोकथामका उपाय तत्काल कार्यान्वयन गर्न पनि उनले जोड दिएका छन्।
यो निर्देशन दिइएको केही समयपछि अवरोध तालबाट पानी बाँध नाघेर बाहिरिन थालेको सूचना सार्वजनिक भएको थियो। बुधबार आएको ठूलो बाढीपछि बनेको उक्त तालमा पानीको सतह बढेर ओभरफ्लो हुन थालेपछि थप पहिरो र बाढीको जोखिम बढेको छ। जोखिमपूर्ण अवस्थाका कारण प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यसमेत थप चुनौतीपूर्ण बनेको छ।
बैठकमा राष्ट्रपति सीले विपद्मा परी ज्यान गुमाएकाप्रति सम्मान व्यक्त गर्दै सहभागीहरूलाई एक मिनेट मौनधारण गर्न आग्रह गरेका थिए।
सिन्ह्वाको विवरणअनुसार घटना उच्च हिमाली तथा अत्यधिक चिसो भूभागमा भएको छ। भिरालो भौगोलिक संरचना, अस्थिर मौसम तथा आसपासका हिमनदी र हिमतालको उपस्थितिले उद्धार, राहत र जोखिम व्यवस्थापनलाई थप कठिन बनाएको छ। सम्भावित भौगर्भिक जोखिमसमेत रहेकाले प्रभावित क्षेत्रको अवस्थालाई संवेदनशील रूपमा हेरिएको छ।
चिनियाँ पक्षले बिहीबार बिहान सार्वजनिक गरेको विवरणमा तिब्बततर्फ तीन जनाको मृत्यु भएको र ५५८ जना सम्पर्कविहीन रहेको उल्लेख थियो। त्यस्तै, बिहीबार दिउँसो चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले नेपालतर्फ पनि १०० भन्दा बढी चिनियाँ नागरिक बेपत्ता रहेको जानकारी दिएका थिए।
नेपाल–तिब्बत सीमा क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीबाट नेपालतर्फ मानवीय क्षति पनि ठूलो भएको छ। उपलब्ध पछिल्लो विवरणअनुसार नेपालमा बाढीका कारण ४८९ जनाको मृत्यु पुष्टि भएको छ।






