काठमाडौँ । बाँकेको नरैनापुर गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी र शिक्षकको निश्चित दिन बराबरको पारिश्रमिक कट्टा गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
विपद्बाट प्रभावित नागरिकप्रति स्थानीय तहको ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले जानकारी दिए ।
उनका अनुसार जनप्रतिनिधि तथा अधिकृत स्तर र त्यसभन्दा माथिका कर्मचारीले सात दिन बराबरको पारिश्रमिक सहयोग गर्नेछन्। सहायक स्तर र त्यसभन्दा मुनिका कर्मचारीबाट पाँच दिन बराबरको पारिश्रमिक कट्टा गरिनेछ।
त्यस्तै, अधिकृत स्तर र त्यसभन्दा माथिका शिक्षकले पाँच दिन तथा सहायक स्तर र त्यसभन्दा मुनिका शिक्षकले तीन दिन बराबरको पारिश्रमिक सहयोग गर्ने निर्णय भएको वलीले बताए ।
संकलित रकम एकीकृत रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने गाउँपालिकाले जनाएको छ ।






