काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हालैको प्राकृतिक विपत्तिबाट प्रभावितहरूको सहयोगका लागि आफ्नो पार्टीको तर्फबाट २५ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् ।
आईतवार जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त रकम राज्य सरकारको राहत कोषमा जम्मा गरिने जानकारी दिएका हुन् ।
सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री नेपालले देशका विभिन्न भागमा आएको बाढी र पहिरोका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरे।
उनले धेरै परिवारहरू शोकमा डुबेको र कतिपयको उठिबास भएको उल्लेख गर्दै पार्टीका तर्फबाट उद्धार र राहत कार्यमा सक्रिय हुन कार्यकर्ताहरूलाई निर्देशन दिइएको बताए । राहत रकम संकलनका लागि पार्टीका मन्त्री, सांसद, स्थानीय तहका प्रमुख तथा उपप्रमुख र नेताहरू सक्रिय रहेको उनले जानकारी दिए।
सरकारको भूमिकाका बारेमा बोल्दै नेता नेपालले अहिलेको संकटपूर्ण घडीमा सरकारले खोज, उद्धार र राहत वितरणलाई प्राथमिकतापछि राख्नुपर्नेमा जोड दिए।
उनले भने, ‘अहिले देश ठूलो संकटमा छ। धेरै मानिसहरू बेपत्ता छन्, कतिको शव नदीले बगाएर सीमावर्ती भारतीय क्षेत्रसम्म पुर्याएको हुनसक्छ । यस्तो अवस्थामा बेपत्ताको खोजी र शवको पहिचानका लागि सरकारले विशेष सक्रियता देखाउनुपर्छ ।’
उनले संकटको यस समयमा सरकारको आलोचना गर्नुभन्दा पनि रचनात्मक सुझाव दिनु उपयुक्त हुने बताए । भविष्यमा यस्ता प्राकृतिक विपत्तिबाट गाउँ र बस्तीलाई जोगाउन सरकारले दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।






