काठमाडौँ । रसुवाको टिमुरेमा नदी तथा बाढीको अवस्था रियल-टाइममा अवलोकन तथा निगरानी गर्न सीसी क्यामेरा जडान गरिएको छ।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको अगुवाइमा सोमबार टिमुरेमा रियल-टाइम बाढी अवलोकन तथा निगरानीका लागि सीसी क्यामेरा जडानको काम सम्पन्न भएको हो।
हाल प्रणाली सञ्चालनमा ल्याउन भीस्याट जडान तथा सञ्चार प्रणाली व्यवस्थापनको काम भइरहेको छ। उक्त काम सम्पन्न भएपछि सम्भवतः सोमबार रातिदेखि नै प्रणाली सञ्चालनमा आउने जनाइएको छ।
जडान गरिएको क्यामेरामार्फत टिमुरे-रसुवागढी क्षेत्रमा नदीको अवस्था तथा बाढीलाई रियल–टाइममा दृश्यरूपमा अवलोकन गर्न सकिनेछ। यसबाट प्राप्त दृश्य तथा सूचनालाई २४ घण्टे बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवाको नियमित प्रणालीमा एकीकृत गरी चौबिसै घण्टा निगरानी गरिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले जनाएका छन् ।
विशेष गरी सीमावर्ती क्षेत्रमा नदीको अवस्था र सम्भावित बाढीजन्य जोखिमको प्रारम्भिक पहिचानका लागि यो प्रणाली उपयोगी हुने अपेक्षा गरिएको छ। जोखिमको संकेत देखिएपछि समयमै सूचना प्रवाह तथा पूर्वसूचना दिन र जोखिम न्यूनीकरणका कामलाई थप प्रभावकारी बनाउन प्रणालीले सहयोग पुर्याउने केन्द्रको अपेक्षा छ।
पछिल्लो बाढीबाट रसुवागढी-टिमुरे क्षेत्र प्रभावित भएको अवस्थामा रियल-टाइम दृश्य निगरानी प्रणाली जडानलाई बाढीको जोखिम पहिचान र पूर्वसूचना प्रणाली सुदृढ गर्ने प्रयासका रूपमा हेरिएको छ।






