काठमाडौँ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बाढी पहिरो प्रभावित क्षेत्रमा राहत वितरण र उद्धार कार्यमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
सोमवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा भोटेकोशी बाढी र त्यसपछिको अवस्थाबारे जानकारी दिँदै मन्त्री पोखरेलले राहत वितरण गर्न नसकेको वा सरकारले जिम्मेवारीबाट हात झिकेको भन्ने कुरा पूर्णतः निराधार र भ्रामक रहेको स्पष्ट पोका हुन्।
मन्त्री पोखरेलका अनुसार राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकारले तीनै तहका निकायबीच समन्वय गरिरहेको छ । यसै सिलसिलामा भदौ १४ गते बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा र विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखबीच छलफल भएको हो ।
‘विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन, २०७४’ बमोजिम नागरिकको खोज, उद्धार र राहतमा प्रदेश तथा स्थानीय तहको भूमिकालाई समेत प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेर उक्त छलफल भएको उनले जानकारी दिए ।
विदेशी सञ्चारमाध्यमको पहुँच र सूचनामा रोक लगाइएको भन्ने जिज्ञासाको खण्डन गर्दै मन्त्री पोखरेलले हवाई सुरक्षा र अत्यधिक ‘एयर ट्राफिक’का कारण उडान सुरक्षालाई ध्यानमा राखेर केही व्यवस्थापन मात्र गरिएको स्पष्ट पारे ।
उनले भने, ‘उद्धारका लागि हवाई सुरक्षाको प्राविधिक मापदण्ड पालना गर्नुपर्ने भएकाले उडानहरू व्यवस्थित गरिएको हो, यसलाई अन्यथा नलिन अनुरोध गर्दछु ।’
अन्तर्राष्ट्रिय सहयोगका सन्दर्भमा परराष्ट्र मन्त्रालयमार्फत निरन्तर समन्वय भइरहेको जानकारी दिँदै प्रवक्ता पोखरेलले हाल भारत, चीन र कोरिया लगायतका मुलुकका उद्धार टोलीहरू प्रभावित क्षेत्रमा सक्रिय रहेको बताए ।
सरकारको अबको मुख्य प्राथमिकता उद्धार र राहतसँगै स्थायी पुनस्र्थापनामा केन्द्रित हुने उनले उल्लेख गरे । मुख्य राजमार्ग, पुल, विद्युत् तथा सञ्चार माध्यमको पुनः सञ्चालनका लागि सरकारले योजनाबद्ध रूपमा काम अघि बढाइसकेको उनको भनाइ छ ।
विपद्को यस संवेदनशील समयमा अपूरो वा असत्य सूचनाले उद्धार कार्य र आम नागरिकको मनोबलमा नकारात्मक असर पार्न सक्ने भन्दै मन्त्री पोखरेलले आधिकारिक निकायबाट पुष्टि भएका तथ्यहरू मात्र सम्प्रेषण गर्न सञ्चारकर्मी र मिडिया हाउसहरूलाई आग्रह गरे ।
उनले भने, ‘सरकार आफ्ना नागरिकको साथमा छ र हामी चाँडै नै यो संकटबाट बाहिर निस्कनेछौँ ।’ प्रभावित क्षेत्रमा राहत र उद्धारको काम चौबिसै घण्टा जारी रहने प्रतिबद्धता समेत उहाँले व्यक्त गरे ।






