काठमाडौँ । नुवाकोटको विदुर नगरपालिका-१० बेत्रावतीमा बाढीका कारण एकै घरभित्र ज्यान गुमाएका २४ जनाको शव फेला परेको छ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार बेत्रावतीमा रहेको उत्तरगया मिनी मार्टको भवनबाट ती शव निकालिएका हुन्। उद्धार टोलीले घरभित्रबाट शव निकालेर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ।
प्रशासनले शवको मुचुल्का तयार पार्दै पहिचानको प्रयास गरिरहेको जनाएको छ। हालसम्म बरामद भएका कुनै पनि शवको सनाखत हुन सकेको छैन।
मुचुल्का तयार गर्ने प्रक्रिया पूरा भएपछि सबै शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए।
गत १० भदौमा रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको ठूलो बाढीले बेत्रावती क्षेत्रमा व्यापक क्षति पुर्याएको थियो। सोही बाढीका क्रममा उक्त घरभित्र ठूलो संख्यामा मानिस फसेको र पछि उनीहरू मृत अवस्थामा भेटिएको प्रशासनले जनाएको छ।






