विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री सहयोग गर्न इच्छुक दाताहरूलाई आधिकारिक विवरण उपलब्ध गराएर मात्र सामग्री ल्याउन आग्रह गरेको छ।
प्रशासन कार्यालयले बुधवार सार्वजनिक सूचना जारी गर्दै राहत वितरणलाई व्यवस्थित, पारदर्शी र नतिजामुखी बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तोकेको सूची बमोजिमका सामग्री मात्र सहयोग गर्न अपिल गरेको हो।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाका अनुसार इच्छुक दाताहरूले सीधै सामग्री ल्याउनुअघि आफूले प्रदान गर्न चाहेको सामग्रीको प्रकार र दाताको आधिकारिक विवरण प्रशासन कार्यालयमा उपलब्ध गराउनु पर्नेछ। साथै, उपलब्ध गराइने खाद्य सामग्री स्वास्थ्य वर्द्धक, पौष्टिक, स्वच्छ, म्याद नसकिएको र लामो समयसम्म नबिग्रिने प्रकृतिको हुनुपर्ने जनाइएको छ।








