महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिकाले रसुवा बाढी प्रभावितलाई करिब ३१ लाख सहयोग गर्ने निर्णय गरेको छ ।
बाढी प्रभावितको राहत, उद्धार एवं पुन:स्थापनामा रु ३१ लाख ३५ हजार १३४ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय गरेको नगरपालिका प्रमुख रामदुलार साहले जानकारी दिए ।
“राहतका लागि नगर बजेटको आन्तरिक स्रोत, जनप्रतिनिधि, कर्मचारी र सामुदायिक विद्यालयका शिक्षकको योगदान रहेको छ”, नगरप्रमुख साहले भने, “यस्ता विपद्मा मन खोलेर सहयोग गर्न सबैपक्षसँग अपिल गरेका छौँ ।”
यसअघि गौशाला, बर्दिबास, भङ्गाहा, औरही र मटिहानी नगरपालिकाले बाढी प्रभावितको सहयोगका लागि रु ४७ लाख ५० हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइसकेको जानकारी दिइएको छ । महोत्तरी जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिका छन् ।






