काठमाडौँ । चीनको सिजाङ स्वायत्त क्षेत्रले नेपालका बाढी पहिरो प्रभावित क्षेत्रमा प्रयोग गर्ने गरी दुईवटा बेलिब्रिज निर्माण गर्न पुग्ने सामग्री उपलब्ध गराएको छ।
सिजाङबाट पठाइएका बेलिब्रिजका उपकरण तथा आपत्कालीन राहत सामग्री शुक्रबार सिगात्सेस्थित रिजी नाकामा नेपाललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
सहयोगमा बेली प्यानल, मजबुत सस्पेन्सन रड, सपोर्ट फ्रेम, ब्रिज डेकिङ र आई-बिमलगायत संरचनागत सामग्री समावेश छन्।
चिनियाँ दूतावासका अनुसार उपलब्ध गराइएका सामग्रीबाट दुईवटा बेलिब्रिज निर्माण गर्न सकिनेछ। बाढीपहिरोबाट क्षतिग्रस्त यातायात सम्पर्क पुन:स्थापित गर्न यी सामग्री उपयोगी हुने अपेक्षा गरिएको छ।
सहयोग हस्तान्तरणका लागि ल्हासामा सिजाङ स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालय र नेपाली महावाणिज्यदूतावासबीच कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा नेपालका तर्फबाट ल्हासास्थित महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले सहयोग सामग्री बुझेका थिए।
सिजाङ स्वायत्त क्षेत्रले बेलिब्रिजका संरचनासँगै बाढी पहिरो प्रभावितका लागि आपत्कालीन राहत सामग्रीसमेत उपलब्ध गराएको छ। राहत सामग्रीको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।






