काठमाडौँ । जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु तथा लार्केपास पदमार्गमा तत्काल यात्रा नगर्न पदयात्री र सम्बन्धित व्यवसायीलाई आग्रह गरेको छ।
कार्यालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै यात्राको तयारीमा रहेका तथा पदयात्रामै रहेका व्यक्तिलाई अर्को सूचना प्रकाशित नभएसम्म उक्त क्षेत्रमा यात्रा नगर्न तथा नगराउन आग्रह गरेको हो।
थेराङ खोलामा बिहानै बाढी
प्रशासनका अनुसार २०८३ भदौ २१ गते बिहान करिब ३:३० बजे चुमनुव्री गाउँपालिका-४ नामरुङस्थित थेराङ खोलामा बाढी आएको थियो।
बाढीका कारण पदमार्ग, होटेल तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको जनाइएको छ। प्रभावित क्षेत्रको विस्तृत क्षतिको विवरण भने सार्वजनिक भइसकेको छैन।
दुईवटा पुल बगायो
बाढीले चुमनुव्री गाउँपालिका-४ र वडा नम्बर २ जोड्ने फलामे पुल बगाएको छ। त्यस्तै, घापबाट नामरुङ जंगलतर्फ जाने बूढीगण्डकी नदीमाथिको झोलुंगे पुलसमेत बाढीले बगाएको प्रशासनले जनाएको छ।
पुल र पदमार्गमा क्षति पुगेपछि मनास्लु तथा लार्केपास क्षेत्रमा आवतजावत जोखिमपूर्ण बनेको हो।
प्रशासनले पदयात्री, पर्यटन व्यवसायी, पथप्रदर्शक तथा सम्बन्धित सबैलाई अर्को सूचना जारी नभएसम्म प्रशासनको आग्रह पालना गर्न भनेको छ।







