काठमाडौँ। गत वर्षको २३ र २४ भदौमा भएको जेन जेड युवा पुस्ताको आन्दोलनमा सहिद भएकाहरूको स्मृतिमा दीप प्रज्वलन गरिएको छ ।
कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको आयोजनामा पार्टी केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा मंगलवार साँझ सहिदहरूको स्मृति तथा सम्मानमा दीप प्रज्वलन गरिएको हो ।
दीप प्रज्वलन कार्यक्रममा पूर्वमन्त्री समेत रहेका पार्टी अध्यक्ष घिसिङको समेत सहभागिता रहेको थियो । दीप प्रज्वलनमा सहिद परिवार्, घाइते परिवार लगायत युवाहरूले दीप प्रज्वलन गरेका हुन् ।
सो क्रममा अध्यक्ष घिसिङले जेन जेड युवापुस्ताको भावनाअनुसार भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्नुपर्ने बताए । उनले स्वदेशमै रोजगारीको अवसर तथा राज्यका निकायमा समेत जेन जेड पुस्तालाई सहभागिता गराउनुपर्ने आम युवापुस्ताको माग सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने बताए ।
यद्धपी वालेन्द्र शाह नेतृत्वको सरकार सो दिशामा अगाडि बढ्न नसकेको उनको आरोप छ । सरकार गठन भएको ६ महिना बितिसक्दा पनि आम नागरिकमा रहेको निराशालाई सरकारले आशामा बदल्न नसकेको उनको आरोप छ । सरकारलाई जेनजी युवा पुस्ताको भावनाअनुसार अघि बढ्नको लागि सबै पक्षबाट सरकारलाई खबरदारी गर्न आवश्यक रहेको पनि उनले बताए ।
उनले भने, ‘जेनजीहरुको माग सरकार परिवर्तन मात्र थिएन । मुलुकमा विद्यमान भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्नुपर्ने माग पनि थियो । युवाहरूलाई स्वदेशमै बसेर काम काम गर्ने वातावरण बनोस्, राज्यका निकायहरूमा जेनजीलाई पनि सहभागी गराओस् भन्ने युवा पुस्ताको भावनाअनुसार अहिलेको सरकार बनेको हो । दुई तिहाइको सरकारले जेनजी आन्दोलनको भावना अनुसार अघि बढेर उनीहरूका मागहरू सम्बोधन गर्नुपर्छ भन्ने हामी सबैको चाहाना हो । तर, ६ महिना बितिसक्दा समेत सरकार त्यो दिशामा अघि बढ्न सकेको छैन । सरकारले आम जनता र युवापुस्तामा रहेको निराशा चिर्नुपर्ने चुनौती रहेको छ । दुई तिहाइको सरकारले यो निराशालाई आशामा बदल्नुपर्नेमा ठिक उल्टो भएको छ । त्यसतर्फ हामी सबैले सरकारलाई खबरदारी गर्न आवश्यक रहेको छ ।’
कार्यक्रममा बोल्दै सहिद परिवारका सदस्य तथा घाइतेहरूले सहिदका माग पुरा गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राखे । गत वर्ष २३ भदौमा संघीय राजधानी काठमाडौँमा भएको जेन जेड पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । सोही प्रहरी दमनको विरुद्धमा भोलिपल्ट २४ भदौमा देशभर आन्दोलन चर्किएको थियो । दुई दिनको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी गरेर ७६ जनाको मृत्यु भएको थियो । साथै कार्यपालिका, न्यायपालिका व्यवस्थापिकासँगै सरकारी तथा निजी सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाट मच्चिएको थियो ।






