काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी राष्ट्रिय अनुसन्धान विभागमा नियुक्ति तथा पटक-पटक बढुवा लिएको आरोपमा प्रमुख अनुसन्धान अधिकृत ठाकुरप्रसाद केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार केसीविरुद्ध कैद र जरिवानाको माग दाबी गर्दै विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो।
राज्यका सुरक्षा निकायमा कार्यरत कर्मचारीले सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको उजुरीपछि आयोगले अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा केसीले भारतको माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेशअन्तर्गतको बोर्ड अफ हाई स्कुल एन्ड इन्टरमिडिएट एजुकेसनबाट जारी भएको भनिएको हाई स्कुल परीक्षाको नक्कली प्रमाणपत्र पेस गरेको पाइएको आयोगको दाबी छ।
केसीले उक्त प्रमाणपत्रका आधारमा राष्ट्रिय अनुसन्धान विभागको सहायक निरीक्षक पदमा नियुक्ति लिएको आयोगले जनाएको छ।
एउटै प्रमाणपत्रबाट तीन पटक बढुवा
आयोगका अनुसार केसीले नियुक्तिका लागि पेस गरेको सोही प्रमाणपत्रलाई बढुवा तथा पदोन्नतिमा समेत पटक–पटक प्रयोग गरेका थिए।
उनी २०६६ सालमा वरिष्ठ अनुसन्धान सहायक, २०७३ सालमा अनुसन्धान अधिकृत र २०८१ सालमा प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा भएका थिए। यसरी बढुवा भएर उनले पदीय हैसियत, लाभ तथा सुविधा प्राप्त गरेको आयोगको आरोप छ।
कैद र जरिवानाको माग दाबी
केसीको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको आयोगले जनाएको छ।
आयोगले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजाय माग गरेको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेले बुधबार जारी गरेको विज्ञप्तिमा केसीविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरिएको उल्लेख छ।






