काठमाडौँ । संयुक्त राष्ट्रसंघ (यूएन)का पूर्वनिर्देशक भाइराजा पाण्डेले अमेरिकी सहयोगमार्फत नेपालमा अमेरिकी शैलीको लोकतान्त्रिक प्रणाली प्रवर्द्धन गर्ने प्रयास भइरहेको आरोप लगाएका छन्।
सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अमेरिकाले विश्वका अन्य मुलुकमा समेत आफ्नो लोकतान्त्रिक प्रणालीलाई उत्कृष्ट ठान्दै त्यसको प्रवर्द्धनका लागि आर्थिक तथा अन्य सहयोग गर्दै आएको दाबी गरे । उनले नेपालमा समेत अमेरिकी लगानीमार्फत राजनीतिक तथा लोकतान्त्रिक प्रणालीमाथि खेलबाड भइरहेको टिप्पणी गरे । उनले अहिलेका नेताहरूले समेत अमेकिारबाट त्यस्तो सहयोग लिएको गम्भीर आरोप लगाए । पाण्डेका अनुसार ‘कन्सोर्टियम फर इलेक्सन एन्ड पोलिटिकल प्रोसेस स्ट्रेन्थेनिङ’ लगायतका कार्यक्रममार्फत निर्वाचन प्रणाली, युवाहरू तथा लोकतान्त्रिक मूल्य-मान्यतासम्बन्धी प्रशिक्षण सञ्चालन हुँदै हुँदै आएको छ ।
उनले भने, ‘अब अमेरिकाले नेपाली नेपालमा डेमोक्रेटिक सिस्टम ल्याउनलाई पैसा खर्च गरेको छ । जुनसुकै देशमा पनि डेमोक्रेसी ल्याउनलाई अमिरेकाले सहयोग गर्नुपर्छ भन्ने उनीहरूको कल्पना नै हो । त्यो उनीहरूको त्यो दृढ विश्वास हो । उनीहरूको भन्दा राम्रो सिस्टम अरू संसारमा कुनै हुन सक्छ भनेर विश्वास गराउनै सकिन्न । उहाँहरूले संसारलाई आफ्नै सिस्टमको तरिकाबाट हेर्नुहुन्छ । अहिलेसम्म जति पनि लडाइँ अमेरिकाले गरेको छ आफ्नो व्यवस्था जोगाउनकै लागि गरेको छ नि । भियतनाममा अमेरिका जानुको कारण के थियो लोकतन्त्र स्थापना भनेर गएको होइन त ? अब हाम्रो देशमा पनि अमेरिकन पैसा खर्च भाछ । अमेरिकन पैसा खर्च नभा होइन । हाम्रो अरू लिडरहरू धेरै मानिसहरूले त्यसबाट फाइदा लिएका छन् । अहिलेका लिडरहरू त्यसमा परेका छन् नपरेका होइनन् । उनीहरूलाई पनि त्यो अमेरिकन असिस्टेन्सबाट यो कन्सोर्सियम फर इलेक्सन एन्ड पोलिटिकल प्रोसेस स्ट्रेन्थनिङ (सीइपिएपिएस) भन्ने छ । त्यस अन्तर्गत उनीहरूले इलेक्सन मेकानिजमलाई पनि ट्रेन्ड गर्ने, युथलाई पनि ट्रेन्ड गर्ने, डेमोक्रेटिक भ्यालुजलाई पनि ट्रेन्ड अमेरिका जस्तै बनाउने भन्छन् ।’
पाण्डेले अमेरिकाले विभिन्न मुलुकमा गरेको सैन्य हस्तक्षेप समेत उसको व्यवस्था र हित संरक्षणसँग प्रत्यक्ष रूपमा जोडिएको बताएका छन् ।






