काठमाडौँ । काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर एकापसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ ।
आज बुढानीलकण्ठबाट नारायणगोपाल चोकतर्फ जाँदै गरेको बा ५ ख ३६७१ नम्बरको भाडाको बस र नारायणगोपाल चोकबाट बुढानीलकण्ठतर्फ आउँदै गरेको बा ५३ प २४८५ नम्बरको स्कुटर एकापसमा ठोक्किएका थिए ।
दुर्घटनामा स्कुटर चालक बुढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलका २२ वर्षीय समीर श्रेष्ठ गम्भीर घाइतेको उपचारका क्रममा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
दुर्घटनामा स्कुटरमा सवार सोही स्थानकी २१ वर्षीया आयुष्मा मगर पनि घाइतेको उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।






