काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेत युवराज दुलालले तातोपानी नाका तत्काल सञ्चालन गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधि सभाको मंलगवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्। उनले रसुवाको भोटेकोशी नदिका आएको बाढीका कारण केरुङ नाका अवरुद्ध भएको उल्लेख गर्दै वैकल्पिक नाकाको रूपमा रहेको तातोपानी नाका खुलाउन कूटनीतिक पहल गर्न सरकारसँग माग गरे ।
उनले तातोपानी नाका लामो समयदेखि बन्द हुँदा दशैँको मुखमा आयात-निर्यात प्रभावित हुनुका साथै बजारमा वस्तुको अभाव र महँगी बढ्ने अवस्था सिर्जना भएको बताए । उनले तातोपानी नाका खुलाउन सरकारले प्रभावकारी कूटनीतिक पहल गर्न नसकेको आरोप पनि लगाए । उनले भोटेकोशी नदीको बाढीले सामान बगाउँदा व्यवसायीले ठूलो क्षति व्यहोरेका छन् भने नाका बन्द हुँदा चाडपर्वका बेला अत्यावश्यक वस्तुको आपूर्तिमा समेत समस्या आउन सक्ने देखिएको भन्दै चिन्ता व्यक्त गरे । उनले महँगीका कारण गरिब तथा विपन्न परिवारको दैनिक जीवन प्रभावित भइरहेको भइरहेको पनि सरकार त्यसतर्फ गम्भीर हुन नसकेको उनको आरोप छ ।
उनले भने, ‘रसुवाको केरुङ नाका भोटेकोशी बाढीले बगाएपछि हामीसँग सहज यातायात सुचारु गर्न सकिने र नाका सञ्चालन गर्न सकिने तातोपानी नाका आज बन्द अवस्थामा छ । दुई हप्ताभन्दा लामो समय भइसक्यो, सरकारबाट कूटनीतिक पहल गरेर तातोपानी नाका खुलाउने कुनै प्रयत्न प्रभावकारी भएको छैन । दशैँको मुखमा हामी छौँ । भोटेकोशी नदीले एकातिर सामान बगाएको छ, व्यवसायीको ठूलो क्षति भएको छ र बजारमा सामान अभाव हुने समस्या आएको छ भने अर्कोतर्फ चाडपर्वको मुखमा सामान आयात नहुँदाखेरि नागरिकहरूलाई भोलि सास्ती पर्ने देखिन्छ । एकातिर महँगी आकासिएको छ, हुन त यो सरकारलाई महँगी आकासिँदा गरिब जनतालाई गाह्रो हुन्छ व्यवहार चलाउन भन्ने कुरा अनुभूति दिलाउन हामीले सकेका छैनौँ । खसीको मासुमा ४ सय बढ्यो, जाबो ४ सय बढेको त हो नि । चामलमा ४ सय बढ्यो, जाबो ४ सय हो नि, किन्न नसक्ने ? यो सरकारलाई महँगीको मार एउटा गरिबको चुलोमा कसरी पर्छ भन्ने कुरा हामीले बुझाउन सकेका छैनौँ र जताततै यो महँगी जुन आकासिएको छ यो अवस्थामा तातोपानी नाका अविलम्ब कूटनीतिक पहल गरेर सुचारु गर्नको लागि म नेपाल सरकारसँग जोडदार माग गर्दछु । त्यसैगरी कोरला नाकामा चिनियाँ पक्षले नेपाली मुस्ताङ मुस्ताङबाहेकका अन्य चालकहरूलाई प्रवेश अनुमति नदिएको कारणले र ठूला सवारीहरू चलाउने पर्याप्त चालक जनशक्ति त्यहाँ नभएको कारणले आज व्यवसायीले ठूलो समस्या भोग्नुपरेको र तत्काल कूटनीतिक पहल गरी त्यहाँका चालकहरूलाई प्रस्थान जहाँसम्म जान मिल्ने त्यहाँ जाने व्यवस्थाको लागि व्यावसायिक क्षेत्रबाट माग भएको छ, म सरकारलाई यसतर्फ पनि ध्यानाकर्षण गराउन चाहन्छु ।’
उनले मुस्ताङको कोरला नाकामा समेत व्यवसायीले समस्या भोगिरहेको बताए । चिनियाँ पक्षले मुस्ताङबाहेकका जिल्लाका चालकलाई प्रवेश अनुमति नदिँदा ठूला सवारी सञ्चालनका लागि पर्याप्त चालक जनशक्ति अभाव भएको उनको भनाइ छ ।






