चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आज बिहानदेखि पुन:सञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित बनेको थियो ।
सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णभिरको सडकमा नयाँ ट्र्याक खोलेर बिहानबाट दुईतर्फी सडक सञ्चालन गरिएको हो । त्रिशूलीले सडकको तल्लो भाग बगाएपछि सडक पूरै भासिएको थियो ।
पूर्ण रूपमा सडक अवरुद्ध बनेपछि गत भदौ १८ गतेदेखि नजिकै रहेको ढिस्कोलाई काटेर नयाँ ट्र्याक खोलिएको हो । नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड)का इञ्जिनियर धीरज ढकालका अनुसार बुधबार साँझसम्ममा सबै काम सकेर आजदेखि सडक सञ्चालनमा ल्याइएको हो ।
नदी कटानबाट करिब १०० मिटर सडक क्षतिग्रस्त भई यातायात अवरुद्ध भएकामा पूर्वाधार विकास मन्त्रालयले आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधनको अधिकतम परिचालन गरी नयाँ ट्र्याक निर्माण तथा सडक पुन:स्थापनाको काम गरेसँगै छोटो समयमा सडक सञ्चालनमा आएको हो । दुई दिनअघिदेखि नै सडकमा रोकिएका सवारीलाई साँझ कटाइएको थियो । आजदेखि भने नियमित गरिएको हो ।
कृष्णभिरमा सवारी सञ्चालन भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा आंशिक रोकिएको सवारी आजदेखि सञ्चालनमा ल्याइएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कृष्णभीरमा सवारी सञ्चालनमा आएसँगै तत्कालका लागि तुइन खोलामा आंशिक सडक रोकेर गरिएको पहिरो रोकथामको काम रोकिएको जानकारी दिए ।
लामो समयदेखि कृष्णभिरको सडक अवरुद्ध हुँदा ठूला सवारीसाधन संघीय राजधानी आवतजावत गर्न पाएका थिएनन् । यसका कारण राजधानीमा एलपी ग्यासको अभाव देखिएको छ । गत भदौ १० गते भोटेकोशी बाढीपछि बढेको त्रिशूलीमा १४ गते पुनः बाढी आएपछि कृष्णभिरलगायत पृथ्वी राजमार्गका विभिन्न ठाउँमा सडक भासिएको थियो । अन्य ठाउँमा सहज भए पनि कृष्णभिरमा पूरै भासिएपछि समस्या भएको हो ।






