काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद महेन्द्रबहादुर शाहीले सरकारले कर्मचारीतन्त्रमाथि व्यापक प्रहार गरिरहेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले सरकारले कर्मचारीमाथि अस्वाभाविक दबाब सिर्जना गर्ने र आतंकित पार्ने कार्य गरिरहेको आरोप पनि लगाए ।
उनले सरकारले कर्मचारीमाथि अस्वाभाविक नियन्त्रण राख्न खोजेको विषयमा आपत्ति समेत जनाए । उनले सर्वोच्च अदालतमा बुधवार भएको आगलागीबारे पनि आंशका व्यक्त गरे । उनले सर्वोच्च अदालतमा बारम्बार आगलागी किन र कसरी भइरहेको छ ? भन्दै प्रश्न समेत गरे । सांसद शाहीले आगजनीबाट बचेका मुद्दाको मिसिल रहस्यमय ढंगले जिल्ला अदालत काठमाडौँबाटै चोरी भएको उल्लेख गर्दै यस विषयमा गम्भीर छानबिन गर्न समेत सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, ‘वर्तमान अवस्थामा सरकारले कर्मचारीतन्त्रमाथि व्यापक प्रहार गरिरहेको छ । सरकारले कर्मचारीमाथि अनावश्यक दबाब सिर्जना गर्ने र आतंकित पार्ने काम गरिरहेको छ । सरकार कर्मचारीमाथि अस्वाभाविक नियन्त्रण गर्नको लागि लागिपरेको देखिन्छ । सभामुख महोदय सर्वोच्च अदालतमा भाद्र १७ र ३१ गते पुनः आगलागी भयो । सर्वोच्च अदालतमा बारम्बार आगलागी किन र कसरी भइरहेको छ ? यति मात्र होइन आगजनीबाट बचेका मुद्दाको मिसिल रहस्यमय ढंगले जिल्ला अदालत काठमाडौँबाटै चोरी भएका छन् । यस विषयमा आवश्यक छानबिन गरियोस् ।’
उनले सरकारले मुलुकको परराष्ट्र कूटनीति प्रभावकारी बनाउन नसकेको आरोप पनि लगाए ।






