काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्ने निर्णय जनताको चाहनाअनुसार नभई विदेशी शक्तिको प्रभाव र दबाबमा गरिएको आरोप लगाएका छन्।
आइतबार नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङदेनले तत्कालीन राजनीतिक दलहरूले नागरिकको अभिमतभन्दा बाह्य प्रभावलाई प्राथमिकता दिएर धर्मनिरपेक्षताको व्यवस्था अघि बढाएको दाबी गरेका हुन्।
उनले धर्मलाई राजनीतिक स्वार्थका लागि प्रयोग गरेको भन्दै दलहरूको आलोचना गरे। नेपाललाई पुनः हिन्दु राष्ट्र कायम गर्नुपर्ने राप्रपाको मागलाई राजनीतिक उद्देश्यका रूपमा व्याख्या गर्न नमिल्ने उनको भनाइ थियो।
अध्यक्ष लिङदेनले हिन्दु राष्ट्रको पक्षमा उठाइएको आवाजलाई राजनीतिक गतिविधि मान्ने हो भने सनातन धर्मावलम्बीहरू स्वयं राजनीतिमा सक्रिय हुनुपर्ने धारणा राखे।
उनले भने, ‘हिन्दु धर्ममाथि हस्तक्षेप कसको कारणले भयो ? धर्म र पार्टीगत राजनीतिलाई दोहोर्याउने काम कसले गर्यो ? राजनीतिक दलहरूले दुई जना पनि सुन्न नसकेको धर्म निरपेक्षताको कुरा गरे । निरपेक्ष र सापेक्ष त हामीले पढेका थियौँ । तर धर्म निरपेक्ष भनेको हाम्रो समाजले अपवादको रूपमा बाहेक सुन्न पाएको थिएन । रातारात देश हिन्दु राष्ट्रबाट धर्म निरपेक्ष राष्ट्र भयो । यसरी हिन्दु राष्ट्रमाथि कसले हस्तक्षेप गरे ? हिन्दु धर्मलाई राजनीतिसँग कसले लाद्यो त ? दलहरूले लादे । त्यसकारणले हामीले नेपाल धर्म निरपेक्ष नभई हिन्दु राष्ट्र बनाउनुपर्छ भन्नु राजनीति होइन । यदि यसलाई कसैले राजनीति मान्छ भने त्योलाई स्वीकारेर यो सनातन समाजले एकचोटीमा राजनीतिमा आउनुपर्यो । दलहरूले त विदेशीको हस्तक्षेप, चाहाना र दबाबमा वा आफ्नो राजनीतिको रोटी सेक्न नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनायो होला ।’
लिङदेनले नेपालको राष्ट्रिय पहिचान, स्वाभिमान र अस्तित्वलाई हिन्दु धर्मसँग जोडेर व्याख्या गरे। हिन्दु धर्मको संरक्षण हुन नसके मुलुकको पहिचान र अस्तित्वसमेत संकटमा पर्न सक्ने उनको दाबी थियो।
उनले नेपालका विभिन्न समुदायका संस्कृति र परम्पराबीच एकता तथा सहिष्णुता कायम राख्न सनातन हिन्दु धर्मको भूमिका महत्त्वपूर्ण रहेको तर्कसमेत गरे।





