काठमाडौँ । नेपाली सेनाले बाढी प्रभावित विभिन्न क्षेत्रबाट हवाई साधनमार्फत हालसम्म चार हजार १९१ जनाको उद्धार गरेको जनाएको छ।
सेनाले बिहीबार साँझ साढे ६ बजेसम्मको खोज तथा उद्धारसम्बन्धी विवरण सार्वजनिक गर्दै उद्धार गरिएकामध्ये तीन हजार ९०८ नेपाली र २८३ विदेशी नागरिक रहेको जानकारी दिएको हो।
सेनाले उपलब्ध गराएको विवरणमा कुल उद्धार संख्या सुरुमा चार हजार १९१ उल्लेख भए पनि सोही वाक्यको अन्त्यमा चार हजार १८७ लेखिएको छ। स्वदेशी तीन हजार ९०८ र विदेशी २८३ जोड्दा कुल संख्या चार हजार १९१ हुन्छ।
तीनवटा जलविद्युत् आयोजनामा खोजी जारी
माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्र आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले खोज तथा उद्धार गरिरहेको सेनाले जनाएको छ। खोजीका क्रममा फेला परेका मानव अंग तथा शव बाहिर निकाल्ने काम भइरहेको छ। त्रिशूली-३ ‘ए’को सुरुङ र विद्युत्गृह क्षेत्रमा पनि खोजी कार्य जारी छ।
त्रिशूली-३ ‘बी’मा नेपाली सेनासहितको संयुक्त टोलीले तीनवटा एक्स्काभेटर र लोडर प्रयोग गरी विद्युत्गृह रहेको स्थानमा उत्खनन गरेको थियो। उत्खननका क्रममा केही फेला नपरे पनि खोजी जारी राखिएको सेनाले जनाएको छ।
आठ हजार ७०० भन्दा बढी सैनिक परिचालन
सेनाले रसुवा र नुवाकोटका त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान र मान्चेतलगायत स्थानमा आधार स्थापना गरी पैदल गस्तीमार्फत खोजी गरिरहेको जनाएको छ।
स्याफ्रुबेँसी क्षेत्रमा तीनवटा समूह खोजीमा परिचालित छन्। साँघुरा सुरुङको रेकी, प्रभावित क्षेत्रको खोज तथा मूल्याङ्कन र सडक सम्पर्कबाट विच्छेद भएका दुर्गम स्थानमा ड्रोनबाट राहत सामग्री ढुवानी गरिएको छ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र पूर्वी नवलपरासीसम्मका प्रभावित क्षेत्रमा सेनाका आठ हजार ७०० भन्दा बढी जनशक्ति प्रत्यक्ष रूपमा खटिएका छन्।
परिचालित टोलीले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचार गरिरहेको सेनाले जनाएको छ।
बाढीपीडित परिवारका धार्मिक संस्कार, श्रद्धाञ्जली तथा भावनात्मक कार्यमा सहजीकरण गर्नुका साथै राहत वितरण र आयोजनाका अत्यावश्यक उपकरण ढुवानीमा पनि सहयोग गरिएको छ।
तीन हजार ९६६ जनालाई स्वास्थ्य सेवा
त्रिशूली र धुन्चेमा सेनाले स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल गस्तीबाट बिहीबार २८ जनाले स्वास्थ्य सेवा लिएका छन्। ती केन्द्रबाट हालसम्म तीन हजार ९६६ जनाले सेवा प्राप्त गरेका छन्।
बाढीका कारण भासिएर अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको रोराङ गाउँपालिका-३ स्थित शीतलबजारको सडक खोल्ने काम भइरहेको छ।
बेत्रावती नदीमा अस्थायी पुल निर्माणका लागि नेपाली सेनासहित अन्य सुरक्षा निकायका जनशक्ति परिचालन गरिएको सेनाले जनाएको छ।






