काठमाडौँ । सरकारले नेपाल लेखापरीक्षण सेवाका विभिन्न पदमा सेवा प्रवेशका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता परिवर्तन गरेको छ। संशोधित व्यवस्थाले चार्टर्ड एकाउन्टेन्सी (सीए)उत्तीर्णलाई राजपत्राङ्कित प्रथम, द्वितीय र तृतीय श्रेणीका पदमा प्रवेशको बाटोसमेत खुला गरेको छ।
नेपाल सरकारले नेपाल लेखापरीक्षण सेवा (गठन, श्रेणी विभाजन र नियुक्ति) नियमहरू, २०५१ को नियम १३ ले दिएको अधिकार प्रयोग गरी अनुसूची–२ मा हेरफेर गरेको हो। संशोधित व्यवस्था असोज ४ गते प्रकाशित नेपाल राजपत्रमा समावेश गरिएको छ।
सहसचिवका लागि यस्तो योग्यता
संशोधित व्यवस्थाअनुसार राजपत्राङ्कित प्रथम श्रेणीको पदमा सेवा प्रवेशका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्यशास्त्र वा व्यापार प्रशासनमा लेखा वा वित्त विषयसहित स्नातकोत्तर तह उत्तीर्ण गरी आवश्यक अनुभव हासिल गरेको हुनुपर्नेछ।
त्यसको विकल्पमा कुनै विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी चार्टर्ड एकाउन्टेन्सी परीक्षा पास गरेको र निजामती सेवा ऐनको दफा ७ को उपदफा (१६) बमोजिमको अनुभव हासिल गरेको व्यक्ति पनि योग्य हुने व्यवस्था गरिएको छ।
उपसचिवमा पनि सीएलाई बाटो
राजपत्राङ्कित द्वितीय श्रेणीको पदका लागि पनि व्यवस्थापन, वाणिज्यशास्त्र वा व्यापार प्रशासनमा लेखा वा वित्त विषयसहित स्नातकोत्तर तह उत्तीर्ण गरेको वा कुनै विषयमा स्नातकोत्तर तहसहित चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरी ऐनले तोकेको अनुभव हासिल गरेको हुनुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै राजपत्राङ्कित द्वितीय श्रेणीको विशेषज्ञ पदका लागि व्यवस्थापन, व्यापार प्रशासन वा वाणिज्यशास्त्रमा स्नातकोत्तर उपाधिसँगै चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरी सरकारी सेवा वा प्रचलित कानुनबमोजिम दर्ता भएको संगठित संस्था वा अन्तर्राष्ट्रिय संघसंस्थाको अधिकृतस्तरको पदमा कम्तीमा पाँच वर्ष अनुभव हासिल गरेको हुनुपर्ने व्यवस्था छ।
शाखा अधिकृतमा स्नातक वा स्नातकसहित सीए
राजपत्राङ्कित तृतीय श्रेणीको पदका लागि व्यवस्थापन, वाणिज्यशास्त्र वा व्यापार प्रशासनमा लेखा वा वित्त विषयसहित स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। कुनै विषयमा स्नातक तह उत्तीर्ण गरी चार्टर्ड एकाउन्टेन्सी परीक्षा पास गरेको व्यक्ति पनि उक्त पदका लागि योग्य हुने व्यवस्था गरिएको छ।
यससँगै लेखापरीक्षण सेवाको अधिकृत तहमा प्रवेशका लागि विषयगत शैक्षिक योग्यतालाई थप स्पष्ट गर्दै सीए उत्तीर्ण जनशक्तिलाई समेत प्रवेशको वैकल्पिक आधार दिइएको छ।
राजपत्र अनङ्कित पदको योग्यता पनि तोकियो
राजपत्र अनङ्कित प्रथम श्रेणीको पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट लेखा वा वित्त विषयसहित कक्षा १२ (१०ं+२), प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।
त्यस्तै राजपत्र अनङ्कित द्वितीय श्रेणीको पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एसईईमा कम्तीमा जीपीए २ प्राप्त गरी उत्तीर्ण वा एसएलसी अथवा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था छ।
संशोधित व्यवस्था नेपाल सरकारका सचिव डा. घनश्याम उपाध्यायको नामबाट राजपत्रमा प्रकाशित भएको हो।
यसअघि सरकारले प्रशासन सेवाअन्तर्गत लेखा समूहका उपसचिव र शाखा अधिकृतको शैक्षिक योग्यतामा पनि परिवर्तन गरेको थियो। उक्त संशोधनमा लेखा वा वित्त विषयसहित व्यवस्थापन, वाणिज्यशास्त्र वा व्यापार प्रशासनको अध्ययन तथा निश्चित अवस्थामा चार्टर्ड एकाउन्टेन्सीलाई प्रवेश योग्यतासँग जोडिएको थियो।









