काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई औपचारिकता दिँदै केन्द्रिय कमिटीमा लैजाने निर्णय गरेको छ ।
सोमवार च्यासलस्थित पार्टी कार्यालयमा सम्पन्न बैठकले प्रतिवेदनका विवादास्पद विषयलाई सम्बोधन गर्दै त्यसलाई केन्द्रिय समितिमा प्रस्तुत गर्ने निष्कर्ष निकालेको हो । पार्टीको केन्द्रिय कमिटी बैठकका लागि एजेण्डाहरू तय गर्दै कार्यदलको प्रतिवेदनलाई सोही समितिमा लैजाने निर्णय पनि गरेको छ । नेकपा (एमाले)का उपमहासचिव लेखराज भट्टकाअनुसार सचिवालय बैठकले केन्द्रिय समितिका लागि आवश्यक एजेण्डाहरूको सूची तयार पारेको छ । उक्त सूचीमा अध्यक्षको मन्तव्य, राष्ट्रिय गान, नयाँ सदस्यहरूको मनोनयन र अध्यक्षको राजनीतिक प्रतिवेदनलगायतका विषयहरू समावेश छन् । पार्टीभित्र लामो समयदेखि चर्चामा रहेको कार्यदलको प्रतिवेदन र त्यसमा भएका विवादास्पद विषयहरूबारे उपमहासचिव भट्टले कार्यदलको काम सकिएको र प्रतिवेदनलाई औपचारिक रूपमा केन्द्रिय समितिमा लैजाने प्रक्रिया शुरु भएको बताए ।
उनले भने, ‘हिजो कार्यदलले प्रतिवेदन बुझाएपछि कार्यदलको औचित्य सकिएको छ । प्रतिवेदनमा समावेश सुझावहरूलाई अब अनुसूचीका रूपमा केन्द्रिय समितिमा प्रस्तुत गरिनेछ ।’
पार्टी अध्यक्षको रिजर्भेसन (विमति)का बारेमा सोधिएको प्रश्नमा भट्टले विशेष महाधिवेशन र नेतृत्व परिवर्तनजस्ता विषयहरूमा पहिले नै सहमति भइसकेको र अहिले त्यसमा कुनै विवाद नरहेको स्पष्ट पारे । २९ पृष्ठ लामो प्रतिवेदन परिमार्जनसहित पारित भइसकेको सन्दर्भमा उनले अब त्यसमा थप बहसको आवश्यकता नरहेको संकेत गरे । केन्द्रिय समितिमा पार्टी पुनर्गठनका विषयमा केही नेताहरूले आवाज उठाउने तयारी गरिरहेको सन्दर्भमा उपमहासचिव भट्टले बैठकको थप प्रक्रिया र त्यहाँ हुने बहसका आधारमा नै आगामी रणनीति तय हुने बताए ।






