काठमाडौँ। सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई राष्ट्रपतिबाट प्रदान गरिएको माफी मिनाहाविरुद्ध दायर भएको रिट निवेदन खारेज गरेको छ।
न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले चौधरीलाई दिइएको माफी मिनाहालाई चुनौती दिँदै दायर भएको रिट निवेदन खारेज गर्ने फैसला गरेको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको कैद सजाय माफी मिनाहा गरेपछि उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो। रिटमा राष्ट्रपतिबाट भएको माफी मिनाहाको निर्णय बदर गर्न माग गरिएको थियो।
सर्वोच्चको पछिल्लो फैसलासँगै चौधरीलाई राष्ट्रपतिबाट प्रदान गरिएको माफी मिनाहासम्बन्धी निर्णयविरुद्ध परेको उक्त रिटको न्यायिक विवाद टुंगिएको छ।
चौधरी टीकापुर घटनासम्बन्धी मुद्दामा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका बेला गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट माफी मिनाहा पाएपछि कारागारबाट रिहा भएका थिए।






