काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जानकी मन्दिर क्षेत्रलाई संरक्षित स्मारक क्षेत्रको रूपमा घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णयको स्वागत गरेका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले चुनावी प्रतिवद्धताअनुसार मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अघि बढेकोमा सरकारप्रति आभार व्यक्त गरेका हुन् । सांसद झाले गत वर्ष चुनावी अभियानको क्रममा जनकपुरमा गरिएको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने प्रतिबद्धता स्मरण गराए ।
मन्त्रिपरिषद्ले मन्दिर क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेसँगै उक्त योजना कार्यान्वयनको दिशामा अघि बढेको उनले बताए । साथै, उनले पछिल्लो समय सरकारी काममा देखिएको तदारुकताको प्रशंसा गरे । विशेषगरी, कृष्णभीरको सडक १२ दिनभित्रै सुचारु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले देखाएको सक्रियताको उनले प्रशंसा गरे । कार्यसम्पादनमा सरकारले देखाएको यो गति अन्य आयोजनाहरूमा पनि आवश्यक रहेको उनले संकेत गरे ।
उनले भने, ‘गत वर्ष चुनावी अभियानको सुरुवात गर्दै गर्दा माघ ५ गते जनकपुरमा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रतिबद्धता हामीले व्यक्त गरेका थियौँ । सोही प्रतिबद्धताअनुरूप जानकी मन्दिर क्षेत्रलाई संरक्षित प्रतिष्ठान क्षेत्रका रूपमा घोषणा गर्ने निर्णय नेपाल सरकार, मन्त्रिपरिषद्बाट भएकोमा आभार व्यक्त गर्दछु । त्यसैगरी, हाल भइरहेका निर्माण कार्यमा सरकारले देखाएको तदारुकताप्रति पनि धन्यवाद व्यक्त गर्दछु । कृष्णभीरको सडक १२ दिनमै सुचारु गर्न देखाउनुभएको पहलप्रति माननीय भौतिक पूर्वाधार तथा यातायातमन्त्रीज्यूलाई विशेष धन्यवाद दिन चाहन्छु । बाढीपीडितहरू विभिन्न स्थानका शिविरमा बसिरहेको अवस्थामा महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण रहेको भन्ने जानकारी आएको छ । यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’
सांसद झाले मुलुकका विभिन्न भागमा रहेका बाढीपीडित शिविरहरूको अवस्थाबारे चिन्ता व्यक्त गरे । बाढीपीडितहरू बसोबास गरिरहेका अस्थायी शिविरहरूमा महिला र बालबालिकाको सुरक्षा संवेदनशीलता बढेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए । असुरक्षित वातावरणका कारण पीडितहरू थप समस्यामा परेको भन्दै उनले तत्काल सुरक्षा र व्यवस्थापनका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरे ।






